सुर्खेत, २४ चैत (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकामा नयाँ शैक्षिक सत्र २०७६÷०७७ लाई लक्षित गरी नयाँ पाठ्यपुस्तक खरिद गर्न वजेट निकासा भएको छ ।
गाउँपालिकाभर रहेका ४९ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि १० कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न वजेट निकासा भएको हो ।
नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि ७ गते सम्म विद्यार्थी भर्ना अभियान सुरु गरी बैशाख ८ गतेदेखि कक्षा सञ्चालन गर्नुपर्ने भएकाले विद्यालयमा एकै साथ रकम पठाइएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिकाभरी माध्यमिक तह कक्षा ११–१२ सञ्चालन भएका ६ वटा विद्यालय, कक्षा ९–१० सञ्चालन भएका ३ वटा, १–८ सञ्चालन भएका १० वटा, कक्षा १–५ सञ्चालन भएका २३ वटा, कक्षा १–३ सञ्चालन भएका ८ वटा विद्यालय रहेका छन् । यसैगरी ५ वटा संस्थागत विद्यालयहरु समेत सञ्चालन भएका छन् ।
शैक्षिक सत्र २०७५ मा सामुदायिक विद्यालयहरुमा कक्षा १– ५ सम्म ४ हजार ३ सय १४, कक्षा ६– १० सम्म ३ हजार १ सय २१ गरी जम्मा ७ हजार ४ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रति विद्यार्थी कक्षा १ मा रु.२४६, कक्षा २ मा रु. २३८ कक्षा ३ मा रु. २९२, कक्षा ४ मा रु. ३४२, कक्षा ५ मा रु. ३७०, कक्षा ६ मा रु. ४४९, कक्षा ७ मा रु. ५०२, कक्षा ८ मा रु. ५४४, कक्षा ९ मा रु. ५४३ र कक्षा १० मा ५६१ का दरले विद्यालयहरुको बैंक खातामा रकम पठाइएको चौकुने गाउँपालिकाका लेखापाल खेमराज शर्माले जानकारी दिनुभयो ।
विद्यार्थी भर्ना अभियान सँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा समयमै तयारी गर्न समयमै बजेट निकाशा दिइएको शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरेले बताउनु भयो ।