देउती बज्यैकाे विकासका लागि महायज्ञ

सुर्खेत, ८ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा शुक्रबारदेखि गंगामाला देउती बज्यै धनधान्याञ्चल विराट महायज्ञ–२०७५ शुरु भएको छ ।
देउती बज्यै पूर्वाधार विकास समितिको आयोजनामा महायज्ञ शुरु भएको हो । देउती बज्यै परिसरलाई आगामी ५ वर्ष्भित्र व्यवस्थित बनाउने गरी समिति अगडि बढेको हो ।
महायज्ञको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै प्रदेशप्रमुख खनालले मन्दिरमा भक्तजनहरुको आकर्षण बढाउनका लागि मन्दिर सुधारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै, संयोजक मुकुन्श्याम गिरीले देउती बज्यै मन्दिर परिसर व्यवस्थापनका लागि आफूहरुले महायज्ञ संचालन गरेको बताउनुभयो ।
महायज्ञबाट संकलित रकमबाट देउती बज्यैलाई प्रदेशकै उत्कृष्ट शक्ति पिठको रुपमा विकास गरिने संयोजक गिरीको भनाई छ । १५ गतेसम्म संचालन हुने महायज्ञमा बासुदेव आचार्य उपाध्यायको प्रवचन रहेको छ ।
देउती बज्यैलाई धार्मिक पर्यटकीय हबको रुपमा विकास गर्नका लागि पूर्वाधार समितिले काम गरिरहेको छ । गुरुयोजना अनुसार ३ देखि ५ वर्ष्भित्रमा पूर्वाधारका सबै काम सकिने संयोजक गिरीको भनाई छ । यस पटकको महायज्ञमा कलश यात्राको सट्टामा श्रीयन्त्र प्रयोग गरिने पूर्वाधार समितिले जनाएको छ । शुद्ध चाँदीबाट निर्मित श्रीयन्त्र लक्ष्मी माताको बासको रुपमा चिनिन्छ ।

शुक्रबार दिउँसो १ बजे उद्घाटन भएको यज्ञ १५ गतेसम्म संचालन हुने महायज्ञमा १० देखि ११ लाख खर्च हुने अनुमान गरिएको छ । महायज्ञ अवधिमा सहभागी हुन चाहनु हुने भक्तजनहरुका लागि मूलकर्ता – १ लाख ५१ हजार, सप्तशति शत्चण्डीपाठ पूजा सहित पूर्ण अनुष्ठान १ लाख ५१ हजार, श्रीमद्भागवत महापूराण पाठ पारायण – ५१ हजार, महागरुड पाठपारायण तथा विशेष पितृतर्पण– ५१ हजार, श्रीदेवी भागवत महापुराण पाठपारायण तथा संगीतमय कथा –१ लाख ५१ हजार, तुलादान, भूमिदान, गौदान, २१ हजार, कालसर्पयोग पूजन सहित ग्रहशान्ति ११ हजार, श्रीयन्त्र पूजन हवन – सशुल्क वितरण–२१ हजार, देउती बज्यै श्रृङ्गार पूजन–९ हजार, देउती बज्यै सन्ध्या आरती– २ हजार १ सय, लक्ष्यदीप प्रज्वलन पूजा सामग्री सहित – २१ हजार, कनककधारास्तोत्र एवम् श्री सुक्त पाठ ११ हजार, नवग्रह शान्ति पाठजप २ हजार १ सय, रुद्रिशान्ति पाठ अभिषेकात्मक पूजासहित २ हजार १ सय, सप्तशति चण्डीपाठ पूजा सहित २ हजार १ सय, विशेष पितृ तर्पण २ हजार १ सय, विष्णु सहत्रनाम पाठ पञ्चशुक्त ९राम–गीता० २ हजार १ सय, बेदपाठ पारायण २१ हजार, ब्राह्मण भोजन एक छाक पूर्ण अनुष्ठान २५ हजार, १ दिनको भोजन भण्डार ५१ हजार, सुन्दरकाण्ड एवम् विविधस्तोत्र पाठ पारायण ५ हजार १ सय, साधारण कर्ता ५ हजार १ सय, विशिष्ट कर्ता २१ हजार, स्थापित देवीदेवता पूजन पाठपारायण हवन सहित प्रसाद ग्रहणको लागि ११ हजार दान गर्नु पर्नेछ ।