पाठ्यक्रमको प्रारूप सम्बन्धमा कानून विज्ञहरूसँग एक दिने कार्यशाला

सुर्खेत, ८ वैशाख (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पाठ्यक्रमको प्रारूप सम्बन्धमा कानून विज्ञहरूसँग एक दिने कार्यशाला सम्पन्न भएको छ । पाठ्यक्रम विकास समितिको आयोजनामा कार्यशाला भएको हो ।
कानून संकाय अन्तगर्त पाँच बर्षे स्नातक तहमा बी.ए. एल.एल.वि. कार्यक्रम संचालन गर्ने गरी प्रा. डा. युवराज संग्रौलाको नेतृत्वमा पाठ्यक्रम निर्माण प्रक्रिया सुरू भए अनुरुप सोही पाठ्यक्रमको प्रारूप सम्बन्धमा कानून विज्ञहरूसँग वीरेन्द्रनगरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यशालामा बोल्दै उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले उत्पादित जनशक्ति र उपभोक्ता निकायविच तालमेल मिलाउन आवश्यक रहेको भन्दै आजको युग अनुकुल काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमुखी पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभयो ।
नेपाल सरकारका पुर्व मुख्य न्यायाधिवक्ता समेत रहेका कानुनका विज्ञ तथा काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौलाले पाँच बर्षे बि.ए. एल.एल. वि. कार्यक्रम कुनैपनि विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउने गरी संचालनमा ल्याईने बताउनुभयो ।
१० सेमेष्टरको लागि १५० क्रेडिटको हाराहारीमा पाठ्यक्रमको निर्माण प्रक्रिया जारी रहेको र पाठ्यक्रमलाई समयसापेक्ष बनाउन कानून क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग सघन छलफल गरी अन्तिम रुप दिने र आगामी भदौ भित्र कार्यक्रम संचालनमा ल्याउने उहाँको भनाई छ ।
साथै प्रभावकारी कार्यन्वयनका लागि पठनपाठनमा समेत प्रत्यक्ष सहभागी हुने र कानूनका १० हजार पुस्तक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभयो ।
त्यसै गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति तथा पाठ्यक्रम विकास समितिका अध्यक्ष प्रा.डा. उपेन्द्र कुमार कोइरालाले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा समेत योग्य कानुनका जनशक्ति उत्पादन गर्न गुणस्तरमा कुनै सम्झौता नगर्ने गरी पाठ्यक्रम निर्माण गरी त्यसलाई कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयमा कानून सङ्काय संचालन गर्न अति आवश्यक रहेकोले यस क्षेत्र र राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी पाठ्यक्रम निर्माण र पठनपाठन गर्न सम्पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले कानून व्यवसायकर्मीहरुले पाठ्यक्रममा सुझाव पेस गरेको विश्वविद्यालयका सुचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।