प्रदेशले आफै कर्मचारी भर्ना गर्ने बाटो खोल्दै सकियो अधिवेशन, अरु के के भयो ?

सुर्खेत, २७ चैत (जागरण) । कर्णाली प्रदेशको लोक सेवा आयोग सम्बन्धि विधेयक संसदबाट पारित भएको छ ।
आज बसेको प्रदेश सभाको बैठकले लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयक २०७५ पारित गरेको हो ।
यो संगै अब प्रदेश सरकारलाई लोक सेवा आयोग गठन गरेर आफै कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएसंगै अब प्रदेशमा लोकसेवा आयोग गठन हुनेछ । कर्णाली प्रदेशले कर्मचारी अभाव हुँदा काम गर्न नसकिएको भन्दै आएको थियो ।


आफुहरुसंग आवश्यक जनशक्ति नहुँदा काम गर्न समस्या भएको भन्दै अब सरकारले लोक सेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयो ।
उहाँले कर्मचारीको अभावमा प्रदेशको समृद्धि पुरा गर्ने आकाँक्षामा धक्का लागेको भन्दै अब सरकारले आफ्नै ब्युरोक्रेसीको विकास गर्ने बताउनुभयो ।
यसैबीच, कर्णाली प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । यस अवधिमा प्रदेश सभाको १३ वटा बैठक बसेका छन् । प्रदेश सभाको हिउँदे अधिवेशनले पाँच वटा विधेयक पारित गरेको छ ।
सभामुख राजबहादुर शाहीका अनुसार कर्णाली प्रदेश सचिवालय व्यवस्था गर्न बनेको बिधेयक, सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, सहकारी विधेयक, शुसासन प्रत्याभुति गर्ने सम्बन्धमा बनेको विधेयक र लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा बनेको विधेयक पारित भएका हुन ।
यस्तै अधिवेशनको अन्त्यमा बोल्दै प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले संसद र सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउनु भएको छ । उहाँले नियम कानुन बनाउने तर कार्यान्वयनमा सक्रियता नदेखाउने बताउनुभयो । उहाँले सांसदहरुले सदनमा उठाएका कुनै पनि विषयमा सरकारले जबाफ दिनएको पनि गुनासो गर्नुभयो ।
यस्तै सांसद गुलाबजंग शाहले आगमी आउने जनपक्षीय र कार्यान्वयन गर्न सकिने योजनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।