मुना हमाल ।
सुर्खेत, २ वैशाख (जागरण) । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन वहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माण कार्य सकिएको छ ।
प्रायः आयोजनाहरु निर्धारित समयमा निर्माण सम्पन्न हुनुको साटो समय थप गर्नुपर्ने अवस्था झेलेका नागरिकहरुमा यो आयोजनाले उत्साह थपेको छ । निर्माण सम्पन्न हुनुपर्ने मितिभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण भएपछि यसले नेपालमा पहिलो रेकर्ड राखेको हो ।
आयोजनाको सुरुङ निर्माणमा कार्यरत सुर्खेतका झोकबहादुर बस्नेत अहिले उत्साहित हुनुहुन्छ । सुरुङ निर्माण कार्य सम्पन्न हुनुभन्दा अघि काम सकिएपछि उहाँ मात्र होइन त्यहाँ कार्यरत कर्मचारी, आयोजना पक्ष, ठेकेदार कम्पनी, नागरिकसमेत उत्साहित भएका छन् ।
वि. सं. २०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । सम्झौता मिति आउन अझै एक वर्ष छ ।
निर्माणका लागि सामान समयमै उपलब्ध, समयको ख्याल गरेको र काम जसरी भएपनि सक्नै पर्छ भन्ने अठोटले समयमै काम सम्पन्न गर्न सफल भएको बताउनुुन्छ, सुरुङ निर्माणमै संलग्न सुर्खेत भेरीगंगा नगरपालिकाका यज्ञराज घर्ति ।
पहिला अन्य काममा एकछिन् विश्राम गर्ने, गफगाफ् गर्ने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘पहिला पहिला त हामी बानी परेका थिएनौँ । खाना खाने समय निश्चित छुट्याइएको हुन्थ्यो । त्यो अवधिमा खाना खाइसके पनि नसके पनि काममा खटिनैपथ्र्यो । खास हरेक काम टाइमलाइन बनाएर गर्दा सफल होइदो रहेछ ।’
नेपालमै पहिलो पटक चीनबाट ल्याइएको टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ निर्माण सुरु गरेको थियो । साथै नयाँ प्रविधिको प्रयोग, आयोजनाको सही छनोट, कामदारको एकता, व्यवस्थापन पक्ष र समयको व्यवस्थापनले समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदारण यस आयोजनाले दिएको आयोजनामा परामर्शदाताको काम गर्दै आउनुभएका भूगर्भविद् पुरुषोत्तम सिल्पकारको भनाई छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर दुई सय मिटर सुरुङ निर्माण भएको हो । अव भोली प्रधानमन्त्री केपी ओलीले सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ भएको औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।
तोकिएको समय अगावै काम सकिएपछि आफूहरु पनि उत्साहित भएको आयोजना प्रमुख सञ्जिव बरालले बताउनुभएको छ ।
भेरीको पानी बबईमा प्रतिसकेण्ड ४० घनमिटर खसालिने छ र त्यहाँबाट आयोजना सम्पन्न भएपछि बर्दियामा ४५ हजार र बाँकेको ६ हजार गरी ५१ हजार हेक्टर जमिनलाई सिंचाई उपलब्ध गराउने आयोजनाको लक्ष्य छ ।
साथै भेरीगंगाको हातिखालमा पावर हाउस निर्माण गरेर ४६ दशमलब ८ मेगावट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । अहिले सुरुङ निर्माण सकिएको आयोजनाले आर्थिक वर्ष २०७९/०८० मा सम्पूर्ण काम गरिसक्ने लक्ष्य लिइएको छ ।
नेपालका प्राय आयोजनाहरु पटक पटक समय थप्दा पनि अलपत्र परेका छन् । निर्माण सम्झौता भएको अवधि पहिल्यै काम सम्पन्न गरेर नागरिकलाई उत्साहित मात्रै बनाएको छैन । नेपालका ठेकेदार कम्पनी र सरकारलाई पनि गतिलो दवाव दिएको छ ।
सुन्नुहोस् अडियो नन्द कठायतबाटः