सुर्खेत, ३ वैशाख (जागरण) । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन वहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङ निर्माण कार्य एक वर्ष पहिला नै सकिएको छ । अधिकांश आयोजनाहरु समयमै सम्पन्न हुँदैनन् भन्ने नराम्रो सन्देशलाई चिर्दै एक वर्ष पहिल्यै निर्माण भएको सुरुङको आज प्रधानमन्त्री केपी ओलीले ‘ब्रेक थ्रु’ गर्नुभएको छ ।
पहिलो पटक टनेल बोरिङ मेसिनमार्फत् निर्माण सुरुङमा बाँकी रहेको एक मिटरको दुरी प्वाँल पार्नका लागि प्रधानमन्त्री ओलीले स्विच थिच्नुभयो र मेसिन चल्न सुरु भयो, त्यसको केही मिनेटमै एक मिटर दुरी मेसिनले प्वाँल पा¥यो ।
त्यस क्रममा प्रधानमन्त्री, उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, पाँच नम्वर प्रदेशका मुख्यमन्त्री मात्रै होइन, नागरिकहरु पनि खुसी भए ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माण गरेर सकिएको हो ।
२०७४ कात्तिक २० गतेदेखि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) ले सुरुङ खनेको हो ।
सुरुङ मार्फत भेरीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिंचाई उपलब्ध गराउने आयोजनाको लक्ष्य छ ।
साथै भेरीगंगाको हातिखाल बबईमा पावर हाउस निर्माण गरेर ४६ दशमलव ८ मेगावट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
ब्रेक थ्रु पछि प्रधानमन्त्री केपी ओलीले विकास निर्माणका काम हाम्रै पालामा हुने भन्दै सबैलाई खुसीयाली मनाउन आग्रह गर्नुभएको छ ।
उहाँले भेरी बबई जस्ता आयोजना निर्माण गरेर देशको अर्थतन्त्रमा मजबुद् गराउने बताउनु भयो । नेपालका स्रोतहरुको प्रयोग गरेर अर्थतन्त्रमा परिवर्तन ल्याउने भन्दै विकासमा नयाँ गति नयाँ अठोटका साथ अघि बढेको बताउनुभयो ।
कार्यक्रममा जलस्रोत सिंचाई तथा उर्जामन्त्री वर्षमान पुनले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरिने बताउनुभयो । यसमा प्रदेश सरकार, स्थानीय र नागरिहरुको लागनी हुने पनि उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोजनाबाट उत्पादन भएको सबै मेगावाट विद्युत कर्णाली प्रदेशलाई चाहिने माग गर्नुभयो ।
यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीका जनतालाई हरेक कुरामा साथ दिने बताउँदै एक प्रशंगमा भोकै बस्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आयोजनाको अन्य कामलाई पनि समयमै सक्ने आयोजनाले जनाएको छ । अब यसका लागि काम अघि बढेको आयोजनाले जनाएको छ ।
सुन्नुहोस् अडियो रिपोर्ट दीपेन्द्र ओलीबाटः