‘केपिएल टू’ को विजेताले पाँच लाख पाउने

सुर्खेत, ४ वैशाख (जागरण) । दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) को विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
यही वैशाख १२ गतेदेखि २१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको केपिएलको उपविजेताले भने दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
केपिएल आयोजक कर्णाली क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार म्यान अफ द सिरिज ५० हजार, उत्कृष्ट बरल र ब्याटम्यान्सले २० हजार र म्यान अफ द म्याच हुनेले ३५ सय प्राप्त गर्ने छ ।


प्रतियोगितामा विभागिय टिमसहित ८ वटा टिमको सहभागिता रहनेछ । आयोजकले टिमका कप्तानहरुको नाम पनि सार्वजनिक गरेको छ ।
प्रतियोगिताका संयोजक रेशम शाहीका अनुसार त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भण्डारी, नेपाल पुलिसको कप्तानमा मन्जित श्रेष्ठ, शसस्त्र प्रहरीको एपिएफको कप्तानमाक बसन्त रेग्मी रहेका छन् ।
यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाडौँको कप्तानमा सुरेन्द्र चन्द, मध्यपश्चिम क्रिकेट बाँकेको कप्तान अजय साहनी, कर्णाली – ११ को कप्तानमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुरको कप्तानमा शुसिल खड्का, लालिगुराँस क्रिकेट एकेडमी झापाको कप्तानमा मेहबुव आलाम छन् ।
कर्णाली ११ ले दुई जना विदेशी खेलाडी ल्याउने तयारी गरेको जनाएको संयोजक शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको अवलोकन गर्न आउँने दर्शकहरुका लागि ३० रुपैयाँ, एक सय रुपैँया र देखि पाँचसय रुपैँयासम्म टिकटको व्यवस्था गरिएको छ ।
साथै आयोजकले प्रतियोगितामा प्रत्येक दिन एक जना दर्शकलाई टिभिलगायतका विभिन्न उपहार दिने पनि भएको छ । अन्तिम फाइनल खेलमा एक जना दर्शकलाई एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।