वर्षभर कर्णालीमा चार लाखभन्दा बढी पर्यटक भित्रिए, तर लक्ष्य भेटिएन

सुर्खेत, ८ वैशाख (जागरण) । कर्णाली प्रदेशमा २०७५ मा चार लाख भन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । वार्षिक पाँच लाख पर्यटक भित्राउँने लक्ष्यसहित कर्णाली रारा पर्यटन वर्ष मनाइएको कर्णाली प्रदेशमा तोकिएको सख्या पुर्‍याउन नसकिएको हो ।
प्रदेशमा ४ लाख ५४ हजार आन्तरिक पर्यटकले भ्रमण गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिहं बुढाले बताउनुभयो ।


आन्तरिकतर्फ सुर्खेतमा एक लाख ६२ हजार ८ सय ६२, दैलेखमा ३८ हजार ६ सय ६८, जाजरकोटमा ५८ हजार ८ सय ६५, रुकुम पश्चिममा ६ हजार ६ सय ५८, सल्यानमा ३६ हजार १ सय ५०, कालिकोटमा ३१ हजार ३ सय ५७, जुम्लामा ७७ हजार ६ सय १४, मुगुमा १३ हजार ७ सय ९५ हुम्लामा २० हजार ५ सय ४५ डोल्पा ८ हजार ३ सय ५४ गरी ४ लाख ५४ हजार ८ सय ५४ जनाले भ्रमण गरेका छन् ।
यो आर्थिक वर्षमा आन्तरिकमा सुर्खेत र बाह्यमा हुम्ला जिल्लामा सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । २१ हजार २ सय ९१ जना वाह्य पर्यटकले प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेका मन्त्री बुढाको भनाइ छ ।
बाह्य पर्यटकतर्फ सु्र्खेतमा ६ सय ५४, दैलेखमा १४ जाजरकोटमा ७ रुकुम पश्चिममा १३, सल्यानमा ९, कालिकोटमा २१, जुम्लामा ६२, मुगुमा ३३४, हुम्लामा १७ हजार चार सय ८९, डोल्पामा २ हजार ६ सय ८८ गरी २१ हजार २ सय ९१ जनाले भ्रमण गरेका छन् ।
२०७५ सालमा प्रदेशमा २४ दशमलब ८ प्रतिशतले पर्यटकको संस्यामा वृद्धी भएको मन्त्रालयले जनाएको छ । पर्यटक आगमन सर्वेक्षण ०७५ तथा अध्यागमन विभाग काठमाडौँको तथ्याङक अनुसार कर्णाली प्रदेशमा यो आर्थिक वर्षको अन्त्य सम्म थप १५ प्रतिशतले पर्यटकको सख्यामा बृद्धी हुने मन्त्रालयले अनुमान गरेको छ ।
२०७५ बैशाख १ गतेदेखि २०७६ बैशाख १ गते सम्मको मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा पर्यटकको आगमन उत्साह जनक रहेको मन्त्री बुढाको भनाई छ ।
यो आर्थिक बर्षमा मानसरोवरका कारण हुम्लामा सबैभन्दा धेरै बाह्य पर्यटक पुगेका छन् भने सबै भन्दा कम जाजरकोटमा पुगेको मन्त्रालयले जनाएको छ ।