राजस्थानले हार्‍यो, दिल्ली शीर्ष स्थानमा

काठमाण्डौँ, १० वैशाख (जागरण) । राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।
राजस्थानले पेश गरेको १ सय ९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।
दिल्लीको जितमा ऋषभ पन्तले ७८, शिखर धवनले ५४ र पृथ्वी शाले ४२ रन योगदान गर्नुभयो । राजस्थानका लागि श्रेयस गोपालले २ तथा धवन कुलकर्णी र रियान परागले एक-एक विकेट लिनुभयो ।
यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । ओपनर सन्जु स्यामसन खाता खोल्न नपाइ आउट भए त्यतिबेला राजस्थानको जम्मा ५ रन थियो ।
त्यसपछि उपकप्तान अजिंक्य रहाणेलाई साथ दिन कप्तान स्टिभन स्मिथ मैदान आउनुभयो । यी दुईले १३१ रनको महत्वपूर्ण साझेदारी गरे । रहाणेले अविजित १०५ र स्मिथले ५० रन बनाउनुभयो । दिल्लीको तर्फबाट कगिसो रबाडाले २ विकेट लिनुभयो । अक्षर पटेल, इशान्त शर्मा र क्रिस मोरिसले एक-एक विकेट लिनुभयो ।
यो खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा क्रिस मोरिसलाई टिममा सामेल गराएको थियो । राजस्थानले भने टिममा कुनै परिवर्तन गरेको थिएन । जितसँगै चेन्नईलाई पछि पार्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ ।