दैलेख, १० वैशाख (जागरण) । केहीदिन पहिलाको हावाहुरी र असिनापानीले खेतीमा क्षति पुर्याएपछि दैलेखको गुराँस गाउँपालिकामा जनप्रतिनिधिहरुले कृषकहरुसँग भेटेर सहानुभूति जनाएका छन् ।
प्रतिनिधिसभाका साँसद पार्वती विशुन्के, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली र वडानम्वर ८ का अध्यक्ष पूर्ण बहादुर ओली सहित अन्य जनप्रतिनिधि, नेता र समाजसेवीहरुले क्षतिबारे अवलोकन गरेका हुन् ।
कृषकहरुको माग सुनेपछि साँसद् विशुन्केले गर्चामा असिनापानीले पुर्याएको क्षतिको राहत सहयोग, उन्नत कृषि प्रविधि, सिचाईंको सुविधा, शाखा सडकहरुको स्तरोन्नति र गाउँमा विद्युतीकरणका निम्ति केन्द्र र प्रदेश सरकारसंग सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस क्रममा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले स्थानीय स्तरबाट गर्न सकिने ससाना विकास कार्यक्रमका लागि गाउँपालिका तयार रहेको बताउदै ठूला विकास कार्यक्रमका लागि केन्द्र सरकारसंग पहल गरिदिन साँसद बिशुन्केसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य मयाराम रेग्मीले असिनापानी वा यस्ता अरु किसिमका प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत सहयोग गर्न सकिने स्थानीय सरकारले राहत कोष स्थापना गर्न सुझाव दिनुभयो ।
गुराँस गाउँपालिकाका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर ओली, स्थानीय समाजसेबीहरु कर्णबहादुर खड्का र प्रेमबहादुर खड्काले पटकपटकको हावाहुरी र असिनापानीले तरकारी खेती र गहुबालीमा पुर्याएको क्षति र सरकारको दायित्व बारे ध्यानार्षण गराउनुभएको थियो । पत्रकार अमर सुनारबाट ।