टंकप्रकाश लामिछाने
अध्यक्ष
स्थानीय तह कर्मचारी संघ कर्णाली प्रदेश
सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार,
म यहां भौतिक रुपमा आरामै छु । सायद तपाई पनि आरामै हुनुहोला भन्ने आशामा छु । म एक स्थानीय सेवा तर्फको कर्मचारी हुं । भर्खर मात्र संघिय गणतन्त्र नेपालको शक्तिशाली सरकारको तपाई प्रधानमन्त्री हुनु भएकोमा हामी लगायत नेपाली जनताहरु खुशिले गद्गद् भएका छौं । तपाईले विगतमा आफ्नो विशिष्ट पहिचान वनाइसक्नु भएको व्याक्ति प्रधानमन्त्री भएकोमा हामी स्थानीय सेवामा काम गर्ने कर्मचारीहरुको खुशिको सीमा रहेको थिएन, लामो समय देखि अभिभावक नभएको अनुभूति भईरहेको सन्तानलाई चाडपर्व संगै एक्कासी अभिभावक पाएको महसुुस जस्तो हुन्छ त्यस्तै उफ्राइ र हुंकार थियो हाम्रो । त्यसमा अंझ अर्को खुशि थपिएको थियो नेपाल सरकारको महत्वपूर्ण मानिने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्वेवारी पाउनु भएको मन्त्री ज्यूको उपस्थितीले । तर विडम्वना तपाईको नयां घर प्रवेश संगै तपाई कै ढाडमा टेकी अहिले हामी माथि विगतको अन्याय त थियो थियो त्यसलाइ पनि माथ गर्नेगरि लाग्छ तपाई कै बलमा निरंकुशता र स्वचछाचारिताको रियलशन हुदैछ हामी माथी । हिजो हामी माथि सौतेनी व्यवहार हुदा पनि कुनै दिन कसो नफिर्ला भन्ने आशमा बांचि रहयो अहिले त झन हामीलाई वसेवसे नवसे घर छाड जसरी व्यवहार गरिदैछ ।
विगतमा हामी घरपायक जागिरमा थियौं घरमा आफ्ना लालाबाला र आफन्त संगै रमाइरहेका नै थियौ । हामी माथि अन्याय, अत्याचार र शोषण हुदा पनि त्यहि स्वार्थले हामीले त्यसलाई सहेर भएपनि वस्न उत्प्रेरित गरिरहयो । आफ्नो लामो अनुभवलाई जनताको सेवामा समर्पित गर्यौं । कहिले काहीं आउने ती घरानियालाइ हामी आफ्नो ज्यानको पनि कुनै प्रवाह नगरि सघाउंदै आयौं । द्धन्दको त्यो कहाली लाग्दो अवस्थामा पनि सरकारका नीति र कार्यक्रमलाई गाउंगाउंमा पुर्याएर सरकारको शाख जोगायौ । घांसका भारी भित्र सामाजिक सुरक्षाको रकम लुकाएर केवल वुढावुढिको आशिर्वादलाई सवथोक ठान्दै आफ्नो जिम्वेवारी पुरा गर्यौं । मौसम परिवर्तन संगै चारैतिर बादल लागेपछि हाम खुशी पनि भयौं शितल वर्षाको कल्पनामा वसेका हामी तर अहिले त एकाएक हुरी वतास र गड्याङगुडुङले उल्टो असिना, पहिरो, डुवान र वाढि बाट पिडित हुन पुगेका छौं । अहिले त हाम्रो सुन्दर घर भत्किसकेको पो छ । नयां वनेका घरहरुमा हाम्रो स्वाभिमान र क्षमता विसाउने एउटो कुनो (स्थान) पनि छैन । त्यहां त हामीलाई नोकर र सेवकको रुपमा रहने गरि जान बाध्य वनाइएको छ । हाम्रो मान मर्यादा र प्रतिष्ठालाई तपाइकै आडमा कुल्चने काम भएको छ । समान हक र अधिकार भएको मेरा दाइ र भाई को तुलनामा मलाई अत्यन्त पूर्वाग्राही व्यवहार गरिएको छ । सवैले खाना खाइसकेपछि रह्यो भने खाने गरि मलाई विलोे लगाइएको छ ।
सम्माननीय प्रधामन्त्री ज्यू, अव म र मेरा साथीहरु घरमा संगै वस्न सक्ने अवस्था रहेन झगडा गरि आफ्नो हक अधिकार संरक्षण गरौं वा अदालतमा न्यायको भीख मागौं ? हुन त तपाईले चाहेपछि हामी सवैको उपयुक्त व्यवस्थापन हुन सक्दछ तर तपाइका वरिपररि रहिरहने घर भित्रका रैथानेहरुले झुक्काइ सकेछन् जस्तो लाग्यो । आज हामी आफ्नै घरभित्र अभिभावक हुदाहुदै पनि एक्लो साहारा विहिन र टुहुरो भएका छौं । अव म र मेरा अन्य साथिहरुले के गर्ने निर्णय गर्न सकेका छैनौ । म जस्तै अन्यायमा परेका पीरमर्कामा रहेका मेरा कतिपय साथिहरुसंगको भेटघाटमा तपाइले अन्यायमा पर्न नदिने वाचा गर्नु भएको कुराले हामीलाई केहि आशा त पलाएको छ तर थाहाछैन हिजो देखि विकेन्द्रिकरणलाई रक्तपिपासु जस्तै रगत पिउन पल्केका हरुले मन्त्रालयमा तपाइहरुको विश्वासमा परेड खेल्दै जे पनि गर्न सक्दछन् । विगतमा पनि यीनीहरुले शाखा आधिकृतको तोक आदेशमा विकेन्द्रिीकरणलाई खर्लप्पै अजिंगरले निले जस्तो बनाए कै हुन् । अहिले पनि सुन्दैछु ती मानिसहरु तपाइका वरिपरि नै छन् रे ? यस्तै गरि अगाडि वढ्ने हो भने तपाईको खानामा पनि मन्द विष हाल्न वेर लगाउने छैनन् यीनिहरुले । मलाइ अहिले त आफ्नो भन्दा पनि वढि चिन्ता तपाइको पो लागिरहेछ ।
सम्माननीय प्रधान मन्त्री ज्यू, तपाइलाई यसले किन यस्तो विलौना गर्यो सवै कुरा मलाई नबुझाई आफना् आक्रोश पूर्ण रोदन किन पोखिरहेको छ जस्तो लागेको होला । सामान्य कुरा भएको भए त म यसलाई वास्ता गर्ने थिएन । बुर्जवाहरुले कसरी सर्वहारा वर्गलाई शोषण गर्दछन र दुइपक्षको ध्रुविकरणबाट क्रान्ती कसरी अगाडि वढ्दछ र विश्वमा साम्यवादको स्थापना हुन्छ भन्ने दर्शनबाट तपाईको नेतृत्वमा भएको सरकार प्रशिक्षित छ भन्ने हामीले बुझेका छौ । मैले यसलाई यहां स्मरण गराउन सान्दर्भिक ठानेको छु । त्यस्तै आफ्नो सिटलाई सुरक्षित गर्न र स्वार्थ पूर्ति गर्नका लागि कति हदसम्म मान्छेहरु गर्दारहेछन् कर्मचारीहरु विचमा आपसमा द्घन्द सृजना गरेर संघियतालाइ नै कमजोर वनाउने खेलमा एक तप्का कसरी लागिरहेको छ । तपाईले हेक्का राख्नु भएकै होला भन्ने विश्वास लिएको छु । यसको संक्षिप्त टिप्पणी सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष राख्ने मैले चेष्टा गरेको छु । म एक सचेत नागरिकको हैसियतले यो आफ्नो कर्तव्य पनि भएको महसुस गरेको छु ।
समान शैक्षिक योग्यता, लोकसेवा आयोगको निर्दिष्ट पाठ्यक्रम, लोकसेवा आयोगबाट छनौट लगायतका समान मापदण्ड हुदा पनि मलाइ दोस्रो दर्जाको रुपमा सौतेनी व्यवहार गरि म माथि निरंकुशता र स्वच्छचारिता लादियो प्रधानमन्त्री ज्यू, (नेपालको संविधान धारा १६, १७, १८)
हामी विच तह मिलान र समकक्षता निर्धारण गर्दा स्थानीय स्वायत्त शासन नियम २६९(ख) मा रा.प. अनं प्रथम, द्घितिय, तृतिय लाई क्रमशः सहायक स्तर पांचौ, चौथौ, तेस्रो तह तथा रा.प.तृतियलाई अधिकृत छैटौं तथा रा.प. द्घितिय लाई आठौ तह मा रुपान्तरण गरि तहगत प्रणाली अवलम्वन गरियोे तर अहिले तं समान होइनस् भनेर हामीलाई पाखा लगाउन खोजियो छ प्रधानमन्त्रिज्यू, (स्थानीय स्वायत्त शासन नियम २६९ (ख)
अहिले पुराना घरहरु भत्किइ सकेका छन, नयां वनेको घरमा हामीलाई सहजै स्वीकारीएका छैन, हामीलाइ त पल्ला छेउको विकट र खोलाको किनारमा कुनैपनि सुविधा नभएको, बत्ति, पानी नभएको घरमा मात्र ठाउं छ नजिक हेर्न नपाउने र हेरेमा आखा फुटाउने खवरदारी छ प्रधानमन्त्री ज्यू, (स्थानीय तह सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ को बुंदा नं ७.४)
यहां जवरजस्ती छ, शक्ति हुनेहरुले जे गरेपनि भएको छ, भनिएको छ, मेरा आसेपासे, भजनमण्डली, मेरै वंश र रगतले मात्र घरमूलीको काम र धनसार संचालन गर्न पाउंछ तेरो योग्यता, क्षमता र सीप भएपनि तेरो काम भनेको सहयोगी र सेवक हो यसमा तलाई नजर लगाउन वर्जित छ भनेर मलाई निस्सा थमाएको छ प्रधानमन्त्री ज्यू (स्थानीय तह सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ को बुंदा नं ७.८)
मलाई अत्यन्त ठूलो अन्यौलमा राखिएको छ, म कुनै तहमा गएपछि कहिले सम्म वस्नुपर्ने हा ? मेरो कद उठ्ने हो वा होइन ? म विरामी भए थाके भने कुनै दिन म त्यो घर छाडेर अन्यत्र परिवर्तन गर्न पाइने हो वा होइन ? त्यो घरमा गएपछि म जस्तै अरुलाई अन्याय पर्ने हो वा होइन ? कतै मेरा समकक्षीलाइ अफ्ठ्यारो पर्छ वा पर्दैन ? मलाई केहि भनिएको छैन, योग्यता, क्षमता र आवश्यकताको आधारमा कुनै ठाउमा पनि काजमा जान नपाइने यो कस्ता न्याय हो ? प्रधानमन्त्री ज्यू,
हिजो संग ैवसेका हामी दाजु भाई दिदी वहिनी विचमा द्धन्द रुपी विष फालेको हुनाले हामी विचमा हिजोको जस्तो सौहाद्रता र सामिप्यता छैन, हामी हिजो मिलेर वसेका हरु विच विस्तारै तिक्तता देखिएको छ । आज मलाई आफ्नै सहकर्मी संग डर छ, आजभोलि उनीहरु मलाई डेडा आंखा लगाउंछन् । अस्ति भर्खरमात्र व्रतबन्ध गरेका मेरा भाईहरुले पनि मलाइ अहिले त जिस्काउन पो थालेका छन् । मेरो उपल्लो घरको दाजुको छोरो भतिजले मलाई हिड्दा पनि ठोक्किदै, धकल्दै हिड्ने गरेको छ प्रधानमन्त्री ज्यू,
म अन्यायमा परेर पिल्सीइरहंदा म माथि उम्लिइरहेको रगतले आज कतै केहि घटना घटाउने हो कि ? खानदानी बलिया मानिएका र स्रोत साधनले सुसज्जित भएका हुंडारहरुले अफ्ठ्यारो पार्ने हुन् कि भन्ने डर ले गर्दा अलि टाढा भाग्ने र लुक्ने गरेको छु प्रधानमन्त्री ज्यू,
हिजो रगत बल हुदा २४ सै घण्टा काम गर्ने मेरा ती सहोदर काका र फुपुलाइ त झन घरको न घाटको पो वनाएको छ । सुन्छु उनिहरुको ऐया र सुस्केरा अनि कल्पना गर्दछु कुन दिनको रिसले आज हामी माथी वज्रपात गराइएको छ । यसले त झन हामीलाई थामी नसक्नु पिडा वोध भएको छ । अरु घरमापनि यस्तै भए त चित्त बुझाउंदा हौ तर अरुघरमा त वुढा र पाकालाइ मान्ने संस्कृति रहेछ यो घरमा त कलि आएछ प्रधानमन्त्री ज्यू, (कर्मचारी समायोजन ऐन २०७४
यस्तो विभत्स देखेर कतिपय साथीहरुले यस्तो समाजमा नवस्ने भनेर अहिले सम्मको वाटा खर्च (सेवा सुविधा) पाएको भए वसाइ सर्ने कुरा गरेका छन् तर कहां र को संग माग्ने हो टूंगो छैन बाटा खर्च नभएकोले कतै जान सकेका पनि छैनन् प्रधानमन्त्री ज्यू,
नेपालको सम्विधान २०७२, समायोजन ऐन २०७४, स्थानीय तह सेवा प्रवाहा सम्वन्धि व्यवस्था २०७४, मा स्थानीय तहको परिभाषा भित्र जिल्ला समन्वय समिति, नगरपालिका र गाउंपालिका लाई राखेको छ स्थानीय तहमा समायोजन भइसकेका हामी लाई जिससमा वस्न पाउदैनौ यहां त मेरा प्यारा मुटुका टुक्रा सन्तानलाई आराम गर्ने ठाउं हो भनेर यहां तिमीहरु वस्ने कुरा हुन्छ भनेर डर, त्रास, धम्की देखाएर जतिसक्दो छिटो धपाउन खोजी रहेका छन् स्थानीय तहमा समायोजन भईसकेका कर्मचारी स्थानीय तहमा रहनै नपाउने यो कस्तो प्रावधान हो प्रधानमन्त्री ज्यू, (नेपालको संविधान २०७२ धारा ३०५ (ढ), कर्मचारी समायोजन ऐन २०७४ दफा १४)
विगतमा स्थानीय स्वायत्त शासन ऐन २०५५ मा स्थानीय सेवा ऐन नवन्दा सम्मका लागि नेपाल सरकारले प्रशासकिय प्रमुख लाई काजमा खटाउने व्यवस्था गरियो र हामीलाइ भनियो यीनी केहि समयका पाहुना हुन पछि तिम्रा आफ्नै सुन्दर घर परिवार हुन्छ, भनेर बिसौ वर्ष झुक्काइयो हामी पनि एउटा सुन्दर घर होला भनेर यहां प्रवेश गरियो । अरु मुलुकमा भएको भए त उल्टो क्षतिपूर्ति माग्ने अवस्था थियो तर यहां त उल्टो अनेक लाल्छना लगाइएको छ प्रधानमन्त्री ज्यू, (स्थानीय स्वायत्त शासन नियम २५३ र २५४)
हामीलाई लागेको थियो घर सवैका समान हुन्छन् चाहे स्थानीय स्वायत्त शासन ऐन होस वा निजामति सेवा ऐन होस तर व्यवहारमा त्यसो देखिएन यहां त सक्नेले जे गरेपनि हुने र निर्धाले सहनुपर्ने नियति भयो कुनैपनि लोकतान्त्रिक मुलुकमा कानुनु उल्लंघन गर्नेलाई कारवाही हुन्छ वा हुन्न यात कानुन सोझा र निर्धालाइ मात्र हो ठम्याउनै गाह्रो भयो प्रधानमन्त्री ज्यू,
अहिले त हामलिाइ उल्टो तोक आदेशका आधारमा आएका भनेर सहनै नसक्ने लाल्छना लगाउन थालियो । शुरुमा कसैलाई ल्याइयो भने मलाइ थाहा भएन तर पछि त लोकसेवा आयोगले नै योग्यता परिक्षण गरे कै हो त प्रधानमन्त्री ज्यू, यदि त्यसो भएकै भए पनि पछि नियुक्ति भएका हामीले कहिले सम्म व्याज तिरी रहनु पर्ने हो ? भन्न मन त थिएन तर पनि भन्ने मन लाग्यो राजप्रसाद सेवा, महिला विकास तर्फका कर्मचारी, राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी, त्रि.वि.वि. स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु, संसद सेवाका कर्मचारीहरुलाई त्यो घरमा प्रवेश गराउदा कसरी गराइएको हो ? उनीहरु अहिले दुधले नुहाय जस्ता कसरी भए ? मैले उत्तर कतैबाट पाउन सकिन । हामी सवै मापदण्ड पुरा गरि लोकसेवा जस्तो तटस्थ निकायबाट छनौट हुदा पनि यो घरको लागि किन योग्य हुन सकेनौ ? मनलाई बुझाउनै सकियन प्रधानमन्त्री ज्यू, (स्थानीय स्वायत्त शासन नियम २०५६ को भाग ५ स्थानीय निकाय कर्मचारी सम्वन्धि व्यवस्था)
हालको मोजुदा सम्विधान बमोजिम गाउंपालिका, नगरपाकिाको कर्मचारी र कार्यालय सम्वन्धि व्यवस्था मा प्रदेश कानुनले तोके अनुसार हुने व्यवस्था हुदाहुदै अहिले किन हतार भयो । हुन त यो अन्तरिम व्यवस्था हो चाहे जतिदिन होस कसैलाइ मानमर्दन गर्न मिल्छ कि मिल्दैन हामीलाई त कतै यो सरकारले नजिर बनाउन चाहेको हो भन्ने शंका लागेको छ । यहि नजिरका आधारमा आगामी कानुन बनाउने दुष्प्रयास हो जस्तो लागेको छ प्रधानमन्त्री ज्यू, (नेपालको संविधान २०७२ धारा २२७)
हजुरलाई हिजो स्थानीय सेवामा नियुक्त भएको कर्मचारी आज किन अर्को सेवामा जान मरिहत्ते गरेको हो भन्ने पनि लाग्न सक्ला म यो पनि स्पष्ट गर्न चाहान्छु प्रधानमन्त्री ज्यू, हामीले कहिल्यै पनि त्यो आशा राखेका छैनौ । हामीलाइ हाम्रै सेवा प्यारो छ मात्र भन्न खोजेको हाम्रो कसैसंग तुलना नगरियोस् वरिष्ठ र कनिष्ठको परिभाषा भित्र हामीलाई अपमानित नगरियोस् हाम्रै थाकथलोमा शासन नचलाइयोस भन्न खोजेको मात्र हो । हो हामी जुन सेवा, सुविधा र शर्तमा नियुक्ति भएका हौ त्यो हामीलाइ मञ्जुर छ तर हामी संधै सिंह दरवारका रैती हुन मञ्जुर छैनौ मात्र भनेको हौ । हाम्रो नियुक्तिको शर्त पनि त्यहि नै हो प्रधानमन्त्री ज्यू,
कुनै पनि सेवा भित्रका कर्मचारी पूर्णतः विवादरहित छैनन् सबल र कमजोर पक्ष सवैका छन् । सवैको योग्यता, क्षमता र सीपको प्रयोग गर्न सकियोस् । योग्यता पुगेकालाई जुनसुकै तहमा विधिवत् रुपमा जान किन डराउंछ यो सरकार ? हामी योग्यता परीक्षण गरेर जान नपाउने तर अरुले भने संधै शासन गरिरहने यस्तो शासकिय नियम हामीलाई स्वीकार्य छैन प्रधानमन्त्री ज्यू
सम्माननीय प्रधानमन्त्री ज्यू,
अहिले हामीलाइ धैर्यता वांध थामी राख्न अत्यन्त गाह्रो भएको छ । मुलुक अहिले संघिय गणतन्त्रमा प्रवेश गरिसकेको छ । लामो संघर्षबाट प्राप्त अधिकारलाई रक्षा गर्नु हामी सवैको चुनौति हो । सायद १०४ बर्षे जहानिया राणाकालिन समयमा पनि यस्तो निरंकुशता र जहांनिया शासन को अनुभूति त्यतिवेलाका शासकहरुबाट भएको थिएन होला । अहिले त त्यो भन्दा पनि वढि अन्याय र अत्याचार भएको छ, कुनैपनि संरचना भित्र कर्मचारीहरु विचमा वर्ग सृजना गर्नु इतिहासको ठूलो भूल हुनेछ । एउटा खोरमा दुइवटा जंगलका सिंहहरु रहन सक्दैनन् अन्तमा त्यो खोर भत्किने निश्चित छ । कुनैपनि कर्मचारीको मनोबललाइ गिराएर सेवा प्रवाह गर्न खोज्नु गोलि विनाको हतियार लिएर शत्रुसंग लड्न पठाउनु सरह हो । स्थानीय तहमा आवश्यक पर्ने करिव ५५ हजार कर्मचारीहरुको विचमा २० हजार कर्मचारीहरुलाई अपमान गरेर पठाउंदा त्यसको प्रतिफल अहिले नै आंकलन गर्नु वेश हुन्छ । हाम्रो मान्यता छ, यो सरकारले हामीलाइ फूल सम्झेछ हामी वासना दिने छौ फोहोरको डंगुर सम्झेछ हामी गन्ध नै दिने छौं । भन्दै सम्माननीय ज्यूको ध्यानाकर्षण को लागि यो खुला पत्रको पठाएको छु बांकी अर्को भेटमा भन्दै अहिले लाइ यो कलम वन्द गर्दछु । धन्यवाद । नमस्कार ।