सुर्खेत, १२ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बको वजेट ल्याउने तयारी गरेको छ । यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय र कर्णाली प्रदेश योजना आयोग तयारीमा जुटेका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले करिब ३० अर्ब वास्तविक बजेट ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । चालु वर्षमा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट ल्याएको सरकारले बजेट कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्दै आगामी बजेट कार्यान्वयनमुखी हुने उहाँको भनाइ छ ।
संघीय सरकारले आव ०७६÷७७ का लागि बजेटको सिलिङसमेत पठाएको छ । कर्णाली प्रदेशका लागि वित्तीय समानीकरणमा ९ अर्ब ८४ करोड ८३ लाख र राजस्व बाँडफाँटमा ७ अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ । आगामी वर्षका लागि समानीकरण अनुदान चालु वर्षको भन्दा बढी रहेको छ ।
यसका साथै यो वर्ष खर्च नभएको करिव साढे ३ अर्ब पनि बचत हुने मन्त्री ज्वालाले बताउनुभयो । उहाँका अनुसार आज बजेटसम्बन्धी छलफल भएको बताउनुभएको छ ।
सुन्नुहोस् ज्वालाको भनाईः
चालु वर्षमा थुप्रै टुक्रे योजनामा बजेट छुट्याएको प्रदेश सरकारले आगामी वर्षमा १ करोडभन्दा तलका योजना नहुने जनाएको छ ।
आवश्यक कानुन, कार्यविधि, निर्देशिका र मापदण्ड बनिसकेकाले आगामी वर्ष बजेट निर्माण र कार्यान्वयनमा जटिलता उत्पन्न नहुने मन्त्री ज्वालाको भनाइ छ ।
सुन्नुहोस् ज्वालाको भनाईः
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले मापदण्डै बनाएर योजनाको वर्गीकरण गरेको जानकारी दिनुभयो ।