अज्ञात रोगबाट नौ जनाकाे मृत्यु, दुई दर्जनभन्दा बढी विरामी

हुम्ला, १४ वैशाख (रेडियो कैलाश) । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएको छ । २ दर्जन भन्दा बढि विरामी परेका छन ।
ताजाकोट गाउँपालिकाको मौला, मदान, दर्जो, सिरुपाटा, काडाजिमाना गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हिजो ८ जना र आज थप एक जना गरी मृत्यु हुनेको सख्या नौ जना पुगेको मौला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो ।
रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनुभयो ।
अज्ञात रोगका कारण मृत्यु हुनेमा ताँजकोट गाउँपालिका–१ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका बिरदल रीठाल रहनुभएको छ ।
त्यसै गरि सोहि वडा नं २ का ५५ वर्षका रङ्गे कोली र पाँच वर्षका सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जीरे सुनार, ५५ वर्षका लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेका छन् ।
यसैबीच, ताँजाकोट गाउँपालिकामा औषधी सकिएपछी कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली खटाइएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।