सुर्खेत, ११ वैशाख (जागरण) । मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माण जिम्मा बेलायतको अन्तराष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले लिएको छ । डिएफआईडीले आज कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोड निर्माण गर्ने घोषणा गरेको हो ।
ग्रामिण पहूँच कार्यक्रम अन्तरगत तेस्रो चरणमा बेलायतको अन्तराष्ट्रिय विकासले मुगु–हुम्ला जोड्ने लिंक रोड अब निर्माण गर्ने छ ।
६५ किलोमिटरको मुगु–हुम्ला जोड्ने लिंक रोड लामो यो सडकले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडिने छ । बेलायत सरकारको २ अर्ब २४ करोड लागतमा यो सडक निर्माण हुने डिएफआईडी एशिया विभागका निर्देशक रिचर्ड मोंत्गोमेरीले जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले (डिएफआईडी) ले सडक निर्माणमा जिम्मा लिनु हरेक हिसाबले पछि परेको कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले हिमालका दुई जिल्ला जोड्ने लिंक रोड निर्माणपश्चात ग्रामिण भेगका नागरिकहरुलाई आवत जावतमा सहजता हुने उल्लेख गर्नु भयो ।
मुगु–हुम्ला लिंक सडक आसपासमा जनघनत्व न्यून रहेकाले सडक निर्माणमा तीव्रता दिन मेसिन र मानवीय श्रम दुवैको प्रयोग गरिने डीएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिनुभयो ।
६५ किलोमिटर लामो यो सडक निर्माणको क्रममा ६ लाख श्रमदिनको रोजगारी सिर्जना हुनेछ भने ८ हजार परिवारले आम्दानी प्राप्त गर्ने उहाँले बताउनुभयो । यो सडक खण्ड निर्माणको कुल लागत २ अर्ब २४ करोड रहेको छ ।
सन २०१३ देखि कर्णाली प्रदेशमा बेलायत सरकारको सहयोगमा संचालन भएको ग्रामिण पहूँच कार्यक्रम मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लाहरुमा स्थानीय सडकहरुको मर्मत सम्भार भइरहेको डिएफआईडीले जानकारी दिएको छ ।