साढे एक सय छोरी–बुहारीलाई दिइयो प्राविधिक अध्ययनमा छात्रवृत्ती

सुर्खेत, १९ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले एक सय ५० जना छोरी–बुहारीलाई तीन वर्षे प्राविधिक डिप्लोमा कोर्ष अध्ययनका लागि छात्रवृत्ति दिएको छ ।
प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउने उद्देश्यले चालू आर्थिक वर्षको बजेटमार्फत एक सय ५० जनालाई छनोट गरिएको कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव दिपा हमालले जानकारी दिनुभयो ।

हमालको आवाजमै सुन्नुहोस्ः 

स्वास्थ्य, कृषि, वन विज्ञान र प्राविधिक इन्जिनियरिङतर्फ एक सय ५० छोरी–बुहारी छनोट गरिएको उहाँले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले स्वास्थ्यतर्फ नर्सिङ, एचए, ल्याव टेक्निसियन, रेडियोलोजी, ल्याव, कृषितर्फ बाली विज्ञान, पशु विज्ञान, इन्जिनियरिङतर्फ सिभिल र मेकानिकल तथा वन विज्ञानतर्फ तीन वर्षे डिप्लोमा कोर्षका लागि छात्रवृत्ति प्रदान गरेको उहाँले बताउनुभयो ।

हमालको आवाजमा फेरी सुन्नुहोस्ः 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले छोरी–बुहारीलाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि चालू आर्थिक वर्षमा एक करोड ३० लाख ३६ हजार १३८ रुपैयाँ छुट्याएको छ ।
छात्रवृत्ति प्राप्त गरेका छोरी–बुहारीले अध्ययन सकेपछि तीन वर्ष प्रदेश सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने हुन्छ । यसका लागि प्रदेश सरकारले छात्रवृत्ति प्राप्त गरेकाहरुसँग लिखित संझौता गरेको छ ।