काठमाण्डौँ, २० वैशाख (जागरण) । सरकारले आउँदो आर्थिक वर्षमा कर्णाली प्रदेशको विभिन्न खानीहरुको उत्खनन् गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट तयार भएको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वैठकलाई सम्वोधन गर्दै दैलेखको पेट्रोलियम खानी र जाजरकोटको बहुमूल्य पत्थर उत्खनन् गरिने बताउनुभयो ।
यस्तै, आगामी आर्थिक वर्षभित्र हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सुरक्षित सडक पुर्याइने उहाँले घोषणा गर्नुभयो । राष्ट्रपति भण्डारीले आगामी चार वर्षभित्र सम्पूर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिने घोषणा गर्नुभएको छ ।
यस्तै भेरी बबई डाइभर्सन आयोजनाको निर्माण कार्य दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले नीति तथा कार्यक्रम बनाएको छ ।
यसैबीच, मुलुकरभर थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ ।
यस्तै सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ । सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, निर्वाचन बेला वृद्धभत्ता ५ हजार पुर्याउने घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।
अन्य यस्तै योजनाहरु हेर्नुहोस् भिडियोमाः