स्वर्गिय आमालाई सम्झँदै पूर्व छात्रले स्थापना गरे विद्यालयमा अक्षयकोष

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्वर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका पूर्व छात्रले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।


धरमपोखरामा रहेको विद्यालयमा पहिलो व्याचको रुपमा अध्ययन गर्नुभएका गुराँस गाउँपालिका ७ लालिकाँडा निवाशी कमल कुमार विसीले आफ्नी आमा स्वर्गिय गोल्मा बुढाको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको हो ।
विसीले प्रत्येक वर्ष विद्यालय प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थी तथा नियमित हाँजिर हुने छात्राका लागि ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । विसीले वि.सं. २०५१ देखि २०५४ सम्म धरमपोखराको विद्यालयमा अध्ययन गर्नुभएको हो ।


स्थापना कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा शिक्षक महासंघ चिङ्गडका अध्यक्ष जनकराज शर्मा, संस्थापक शिक्षक खड्गकुमारी उपाध्याय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका भुतपूर्व, वर्तमान अध्यक्षहरु, अन्य शिक्षक तथा अभिभावकहरुको सहभागिता थियो ।