पुनर्निर्माणमा आवश्यक नौ खर्ब, खर्च एक खर्ब

काठमाण्डौं, १२ वैशाख (अन्नपुर्ण) । भूकम्पपछिको पुनर्निर्माणका लागि हालसम्म एक खर्ब २८ अर्ब रुपैयाँ खर्च गरिएको छ । यो रकम सरकारी भवन, सम्पदा, स्वास्थ्य भवन, विद्यालय भवन र निजी आवास पुनर्निर्माणमा खर्च गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले तीन वर्षमा दातृनिकायबाट दुई खर्ब ६२ अर्ब रुपैयाँ सहयोग सम्झौता भएको जानकारी दिनुभयो ।
यो रकममध्ये एक खर्ब ८१ अर्ब ऋण र ८१ अर्ब अनुदान हो। पुनर्निर्माणका लागि विभिन्न निकायको सहयोगमा नौ खर्ब ३८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । भूकम्पलगत्तै गरिएको ‘प्राकृतिक विपत्तिपछिको आवश्यकता मूल्यांकन’ (पीडीएनए) प्रतिवेदनमा पुनर्निर्माणका लागि नौ खर्ब ३८ अर्ब रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको थियो । यो रकममध्ये विभिन्न विकास साझेदारहरूले चार खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सरकारले भूकम्प गएको दुई महिनापछि असार १० गते गरेको पुनर्निर्माणका लागि दाता सम्मेलनबाट यो रकम जुट्ने प्रतिबद्धता जुटेको थियो । पुनर्निर्माण बजेट सरकार, निजीक्षेत्र, दातृनिकाय, राष्ट्रिय्अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र समुदायबाट जुटाइएको हो ।