सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतका भेरीगंगा र गुर्भाकोट नगरपालिकाका किशोरीहरु आफ्ना प्रजनन् स्वास्थ्यका लागि प्राप्त हुने सेवाका बारेमा जानकारी लिन थालेका छन् ।
युवति समुह गठन नै गरेका किशोरीहरु आफुलाई पायक पर्ने स्वास्थ्य संस्था अवलोकन गरी प्रजनन् स्वास्थ्यका लागि प्राप्त हुने सेवाका बारेमा जानकारी लिन थालेका हुन् ।
समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुर्खेत जिल्लाका भेरीगंगा र गुर्भाकोट नगरपालिकामा संचालन भएको नेपाली युवाका लागि स्वस्थ्य रुपान्तरण परियोजना अन्तरगत गठन भएका युवती समुहका किशोरीहरुले भेरीगंगा नगरपालिकामा ७ वटा र गुर्भाकोट नगरपालिकामा ५ वटा स्वास्थ्य संस्थाको अवलोकन गरेका छन् ।
यसैगरी विद्यालयमा अध्ययन गर्ने युवतीहरुको प्रजनन स्वास्थ्य समस्याका आधारमा विद्यालयले स्वास्थ्य संस्थासम्म पुर्याउने वातावरण सिर्जना गर्नका लागि माध्यामिक तहका शिक्षक र स्वास्थ्य संस्थाका कर्मचारीहरु बीच पनि छलफल गरिएको छ ।
छलफलमा महिनावारी चक्र सम्बन्धि खेल समेत खेलाइएको समाज जागरण केन्द्र (स्याक) नेपालले जनाएको छ । छलफलपछि विद्यालयका शिक्षहरुले पनि स्वास्थ्य बिषय अध्यापन गराउदा यस्ता खालका खेलहरु खेलाउने र प्रजनन सवास्थ्य सम्बन्धी समस्या भएका किशोरीहरुलाई पाएक पर्ने स्वास्थ्य संस्थामा सेवा लिनका लागि पठाउने साझा सहमती भएका छन् ।