आदर्श विक्रम सिहँ ।
समयको परिभाषा व्यक्ति अनुसार भिन्न भिन्न हुन्छ । एक बच्चाले खेलिरहेको समय, एक युवाले मोजमस्तीमा गुमाइरहेको समय, एक प्रेमिल जोडी डेटिङ पार्कमा बसिरहेको समय, एक बूढो व्यक्तिले जीवनको अन्त्यमा पश्चाताप गरेर सम्झिरहेको समय । सबैको साझा निष्कर्ष । समय अमुल्य चिज हो । यसलाई किन्न सकिदैन, धम्की दिन सकिदैन, ढिलो चाडो बनाउन सकिदैन । समय सधैं एकनासको हुन्छ । यसले बच्चा, युवा, बुढा-बुढी, धनी-गरिब, ठूलो-सानो केहिपनि भन्दैन । यो निरन्तर चलिरहन्छ । हामी समयलाई शताब्दी, दशक, वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड आदिमा मापन गर्दछौँ ।
विज्ञान र प्रविधिले सिङ्गो संसारलाई एउटा घर बनाएको समयमा समयको सुचक घडी हो । यसको प्रयोगले अहिले के गर्ने समय हो ? भनेर सर्वश्रेष्ठ प्राणी मान्छेले सजिलै थाहा पाउँछ । तर जनावरहरुमा पुरानै नियम लागू छ । जनावरहरु विहान हुन बित्तिकै आफै ब्युझन्छन् । हरेक व्यक्तिलाई अहिले बिहान उठ्नको लागि अलार्म लगाउनुपर्छ । समयसँगै नित्य कर्म गर्छन् । पुजा पाठ गर्दैनन् । पशुहरुको चेतना पुजापाठ सम्म पुगेको छैन । बिहान, बेलुका र साँझ पनि जनावरहरुले हातमा घडी बाधेर डुल्दैनन् । उनीहरू आफ्नो काम आफ्नै ढङ्गबाट र तरिकाबाट गर्दछन् । मानिसको पुस्तालाई फर्किएर हेर्ने हो भने हातमा घडी व्यर्थ मै लगाइए’छ भन्ने महशुस हुन्छ । मानिस सर्वश्रेष्ठ प्राणी भएकोले यसले हरेक सेकेन्ड समयको महत्त्व बुझ्नुपर्छ भनेर घडी निर्माण गरिएको हो । घडी फेसनको लागि लगाउने प्रवृत्ति हाबी भएको छ । वास्तवमा घडीले हरेक व्यक्तिलाई कुन समयमा कुन कार्य गर्ने, के कार्य गर्ने ? भनेर झक्कझकाउँछ । घडीको प्रयोगले मान्छेलाई सहि समयमा सहि काम गर्न उत्प्रेरित गरेको छ । घडी हुन्थेन भने एक्काइसौं शताब्दी विज्ञान र प्रविधिले भरीपुर्ण भएपनि लङ्गडो अवस्थामा फेला पर्ने थियो । वैज्ञानिकहरुले समयको महत्त्व बुझेर समयको सुचक घडी निर्माण गरेका छन् । मानिसले समयकै परिधिभित्ररहेर गुड्ने र उड्ने दुबै वस्तुहरुको निर्माण गरिसकेको छ । समयको शक्ति चन्द्रमामा र विभिन्न ग्रहहरुमा मानव बस्तीले छर्लङ्ग पार्दछ । समय अदृश्य छ । यो सँग घडीको माध्यमबाट चल्न सकिन्छ ।
बेन फ्रन्कलिनले समयलाई पैसा भनेका छन् । समयलाई जसले समयमै बुझे र सदुपयोग गरे उनीहरू सगरमाथा भन्दा पनि माथिल्लो उचाइमा पुगेका छन् । जसले समयको धज्जी उड्ने गरी दुरुपयोग गरे उनीहरू पश्चातापको आगोमा पिल्सिरहेका छन्, रहनेछन् । अहिले समयको दुरुपयोग अधिकांश व्यक्तिहरुले सामाजिक सञ्जालमा गरेका छन् । मोबाइलमा गरेका छन् । बेला न कुबेला हासी मजाकमा गरेका छन । लागुपदार्थ सेवनमा गरेका छन । थुप्रै छन् उदाहरणहरु । बिशेष गरेर वेरोजगार युवाहरु र स्कुलले केटाकेटीहरु यसका केन्द्रविन्दु हुन् । युवा र स्कुलले केटाकेटीहरुको उर्वर अन्न फलाउने समयमा मस्तिष्क जस्तो शक्तिशाली भूमिलाई नष्ट गर्न यसले लालयीत गरिरहेको छ । सामाजिक सञ्जालको सदुपयोगले थुप्रै व्यक्तिहरुलाई आफ्नो लक्ष्य तर्फ अगाडि बढ्न प्रेरित गरेको छ, भने सामाजिक सञ्जालकै दुरुपयोगले व्यक्तिलाई तहसनहस बनाइदिएको छ । हरेक व्यक्ति समयको सदुपयोगबारे राम्ररी जानकार छन् । तर हरेक व्यक्ति समयबारे र आफ्नो लक्ष्यबारे समझदार छैनन् । समयले जुनदिन व्यक्तिलाई नराम्ररी पछार्छ त्यो दिन व्यक्तिले समयको महत्त्वबारे दुई शब्द राम्ररी थाहा पाउछ । `आज र अहिले।´
समयको सदुपयोग र दुरुपयोग मात्र हुन्छ । यसको छुट्टै कुनै भाषा छैन । अहिलेको मुख्य समस्या विद्यार्थी जीवनमा समय हो । यदि कुनै पनि विद्यार्थीले म मेरो समय के मा लगाउ ? के गरौ ? कसो गरौ ? के गर्दा राम्रो होला ? कस्तो गर्दा राम्रो होला ? सोचिरहेको छ भने उक्त विद्यार्थी नमच्चिने पिङको सय झट्कामा प्रवेश गर्नेवाला छ । हरेक विद्यार्थीको विद्यार्थी जीवनमा अध्ययन भन्दा महत्त्वपूर्ण र बलियो पक्ष दोस्रो हुनै सक्दैन । हरेक विद्यार्थीको मुख्य काम र कर्तव्य अध्ययन हो । हरेक व्यक्ति जिन्दगीभर विद्यार्थी रहन्छ र हरेक व्यक्तिले जिन्दगीभर अध्ययन गरिरहनुपर्छ । अध्ययन बिनाको मानिस पशु सरह हुन्छ । अधिकांश विद्यार्थीको समस्या मेरो लक्ष्य छ र सँगसँगै शैक्षिक योग्यता पनि चाहिएको छ भन्ने नै हो । पहिले इच्छा तर्फ नलागेर विद्यार्थी वा व्यक्ति आफ्नो आवश्यकता परिपुर्ति तर्फ लाग्नुपर्छ । यदि कुनै पनि व्यक्ति वर्तमानमा नै बाचेन भने भविष्य हुनै सक्दैन । हरेक व्यक्तिलाई तिर्खा लागेको छ । सोही समयमा अगाडि पानी र जुस भेटिन्छन् । अब पालो र मौका अनि मनसाय तपाईंको हातमा हुन्छ । तपाईंको अगाडि इच्छा र आवश्यकता राखिएका छन् । अब सजिलो भयो तपाईंलाई पिउनुस् कुन पिउनुहुन्छ ? इच्छा जुस हो आवश्यकता पानी । त्यसैले आवश्यकता महत्त्वपूर्ण हुन्छ । अहिले आवश्यकता पूरा गरेपछि सँगसँगै इच्छालाई पनि स्थान दिन सकिन्छ ।
शिक्षा प्रणालीको सन्दर्भमा अहिले थुप्रै प्रश्नवाचक चिन्हले अङ्गालो हालेको छ । धेरै व्यक्तिहरुले सोध्ने प्रश्न हो यो । र, उत्तर दिन नसकिएको । गणितको हिसाब गर्दा प्रयोग हुने । (a+b)2 कहिले काहा काम लाग्छ ? यसको सरल उत्तर के हो भने यस्तै स-साना जुन थुप्रै किताबहरुमा राखिएका प्रश्न उत्तर हुन्छन् । जसलाई हामी कण्ठ गर्छौं । यसले मस्तिष्कको कसरत गराइरहेको हुन्छ । (a+b)2 भन्न जान्नेले मात्र राम, श्याम, हरि, गिता जस्ता नामहरु थाहा पाउछ र भन्छ ए ऊ त मेरो साथी हरि हो त । त्यसैले शिक्षा प्रणाली समस्या होइन र केहि सुधार्नु पर्ने पक्षहरु पनि होलान् तर समस्या शिक्षा प्रणाली नभएर हाम्रो मस्तिष्क हो । हामी मस्तिष्कले कार्य गर्दछौं । कुनै एक मान्छेलाई एउटा कुरा याद गर्न पाँच मिनेट समय लाग्छ अर्को मान्छेलाई दस मिनेट । यो शिक्षा प्रणाली सबैको लागि समान छ तर समान मस्तिष्क छैन समस्या यहि बन्न पुगेको हो ।
विद्यालयहरुले समयको बर्बाद गरिरहेका छन । यो उक्ति अधिकांश व्यक्तिहरुबाट सुन्ने गरिन्छ तर चिन्तन, मनन गरेर हेर्ने हो भने हरेक व्यक्तिको समय व्यवस्थापन यिनी शैक्षिक संस्थाहरुले गरिदिएका छन । खुशीको कुरा त यिनै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने क्रममा व्यक्तिले म के मा सहि के मा गलत पहिचान गर्न थाल्दछ । समय व्यवस्थापन एकदमै सहज र जटिल विषय हो । अहिले धेरै व्यक्तिहरु समय व्यवस्थापन गर्न नसकेर पिडीत भएका छन । समय व्यवस्थापनको कला नजानेर थुप्रै व्यक्तिहरु भौतारिरहका छन । उनीहरू के सहि के गलत छुट्याउनै सकिरहेका छैन । जतिबेला जे मन लाग्यो त्यहि गर्ने, जहाँ जान मन लाग्यो त्यहि जाने, जे खान मन लाग्यो त्यहि खाने आदि आदि । व्यक्ति हराइरहेको छ । करोडौंको भिडमा । म कोहो ? काहा जादैछु ? एक पटक रोकिएर उसलाई आफूसँग प्रश्न गर्ने समय छैन । त्यति व्यस्त र पिडीत दुबै छ । व्यक्ति जब आफूसँग यस्तो खालको प्रश्नहरु गर्न थाल्छ । तब ऊ कुनैपनि समस्याको सहजै निष्कर्षमा पुग्छ । समय व्यवस्थापनबारे स्टेकेन कोभेले मेट्रिक्स बनाएका छन । जुन समय व्यवस्थापनको खजाना साबित भएको छ ।
पहिलो : महत्त्वपूर्ण र जरुरी ।
दोस्रो : महत्त्वपूर्ण तर कम जरुरी ।
तेस्रो : महत्त्वपूर्ण नभएको तर जरुरी ।
चौथो : महत्त्वपूर्ण नभएको, कम जरुरी नभएको ।
समय हतियार हो । यसको प्रयोग गर्न जान्यो भने जिन्दगी फल्छ, फुल्छ । यदि यसको प्रयोग गर्न जानेन भने जिन्दगी उमेर नआएर ढल्छ, बूढो हुन्छ । समय चमत्कारी चिज हो । यसले जहा र जहिले पनि जसको जिन्दगीमा पनि चमत्कार गर्न सक्छ । त्यसका लागि वर्तमान निखार्न, तिखार्नमा खर्चनु पर्छ । सदुपयोग गर्नु पर्छ । हरेक दिन समय तालिका अनुसार कार्य गर्दा अन्यौल सिर्जना हुदैन र समय सजिलै व्यवस्थापन गर्न सकिन्छ । समय व्यवस्थापनका लागि बिहानको समय ध्यान र अध्ययन, दिउँसो कर्म र साझ भेटघाट अनि दिनको उत्सव मनाउने गर्नुपर्छ । समय व्यवस्थापन बानी नपरुन्जेल फलामको चिउरा चपाए जस्तै हुन्छ । जब समय व्यवस्थापन बानी हुन्छ । हरेक कार्यहरुलाई सरल र सहज बनाइदिन्छ।