सुर्खेत, ४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानिय तहमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने भएको छ । प्रदेशका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी प्रदेश सरकारले स्वास्थ्य केन्द्रको स्थापना गर्ने भएको हो ।
प्रदेशका दशवटै जिल्लाका प्रत्येक स्थानिय तहमा एक–एक वटा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षमा प्रदेशका विकट जिल्लामा सुत्केरी हुन नसकेका १८ जना महिलालाई हेलिकप्टर मार्फत उद्दार गरेको छ । जिल्लाबाट कम्तिमा पनि एउटा सुत्केरीको उद्दारको लागी १ लाख देखि पाचँ लाख सम्म खर्च हुने गरेको छ ।
एयरलिफ्टिङको लागी भन्दै प्रदेश सरकारले डेढ करोड र केन्द्र सरकारले पचासलाख वजेट विनियोजन गरेको थियो । विनियोजित बजेट मध्ये १ करोड रकम खर्च भएसकेको छ भने पचास लाख रकम बाकी रहेको मन्त्रालयले जनाएको छ ।
हवाई उद्धार केही समयकालागि मात्रै भएकाले ती स्वास्थ्य केन्द्रमा एक एक जना विशेषज्ञ डाक्टर राख्ने र जिल्लाबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भएपनि सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।