शिक्षा सुधारका लागि अभियान चलाउँदै स्थानीय तह

सल्यान, १३ वैशाख (जागरण) ।
सल्यानका १० वटै स्थानीय तहले शैक्षिक गुणस्तर सुधार अभियान सञ्चालन गरेका छन् । वर्षौंदेखि शैक्षिक विकासमा ठूलो रकम खर्च गरिए पनि गुणस्तर सुधार नभएपछि सामुदायिक विद्यालयको शिक्षण सिकाइको स्तर र शैक्षिक गुणस्तर सुधारमा स्थानीय तह सक्रिय भएका हुन् ।
शारदा नगरपालिकाले नगरभित्रका ५६ विद्यालयमा चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न थालेको छ । नगरपालिकाले कक्षा सञ्चालनका लागि पाठ्यपुस्तक र शिक्षकको व्यवस्था गरेको छ ।
यस्तै, कालीमाटी गाउँपालिकाले १० विद्यालयमा अंग्रेजी माध्यम लागू गरिएको जनाएको छ । त्यस्तै दरबन्दी अभाव भएका विद्यालयको मिलान, अनुगमन र मूल्यांकन प्रभावकारी बनाइने जनाएको छ ।
कपुरकोट गाउँपालिकाले पनि गाउँपालिकाभित्रका २४ विद्यालयमध्ये तीन विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेको छ ।
बन्गाड कुपिन्डे नगरपालिका प्रमुख गोविन्द पुनले शिक्षक अभाव भएका विद्यालयमा शिक्षक भर्ना गर्ने र केही विद्यालय समायोजन गर्ने जानकारी दिनुभयो ।
३० विद्यालयमध्ये पहिलो चरणमा देवस्थल माविलाई नमुना बनाउन सुरु गरिएको उहाँको भनाइ छ ।
दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले गाउँपालिका भित्रका २० विद्यालयमा शिक्षक तथा बालबालिकाको नीतिगत बानीमा सुधार ल्याउन पहल थालिएको बताउनुभयो ।