मिनी ट्रक दुर्घटना हुँदा तीन र चट्याङ्गले एकको मृत्यु

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेतबाट खाद्यान्न र स्वास्थ्य सम्वन्धि सामग्री लिएर दैलेख जाँदै गरको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दैलेखको ठाटीकाँध गाउँपालिका ६ का धर्म थापा, जोरासिंह थापा र दीपेन्द्र थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताउनुभयो ।
सुर्खेतबाट खाद्यान्न बोकेर कर्णालि राजर्माग हुँदै दैलेखको ठाँटीकाँध गाउँपालिका तर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनिट्रक दैलेखको गुराँस गाउँपालिका १ निगाल झाप्रामा दुर्घटना भएको हो ।
ट्रकमा पेट्रोलको भाँडा राखिएकोले दुर्घटना भएलगत्तै आगलागी भएर मिनीट्रकमा रहेका तीनै जनाको मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।
यस्तै, जुम्लाको हिमा गाउँपालिका–८ तलिकुडुमा चट्याङका कारण एक बालिकाको मृत्यु भएको छ अर्की बालिका घाइते छन् ।
चट्याङ लागेर हिमा–८ की ११ वर्षीय रुप्सी बुढाको मृत्यु भएको हो । १४ वर्षीया विमला बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।