कर्णालीको संसद अधिवेशन शुरु, सरकारको कामप्रति असन्तुष्टी (अडियो सहित)

सुर्खेत, १० जेठ (जागरण) । कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आजदेखि शुरू भएको छ । अधिवेशनको शुरूवातमै सत्तापक्ष तथा प्रतिपक्षले सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् ।
सत्तापक्षका नेता यामलाल कंडेलले सरकारको विरुद्धमा बाहिर बजारमा आएका हल्लाले नेकपालाई असर पार्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले रफ्तारमा सरकार अघि बढ्न जरुरी बताउनुभयो । उहाँले संसदमा उठेका सवालहरुको विलम्ब नगरिकनै सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

सरकारलाई, संसदहरुलाई थाहै नदिई बाहिरै बजेट बनाइरहेको भन्ने सुन्नमा आएको बताउँदै जनप्रतिनिधिलाई बाहिर राखेर बजेट नबनाउन सरकारलाई अनुरोध गर्नुभयो ।

सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले जम्मा १२ प्रतिशत मात्रै बजेट खर्च भएकाले काम नै नगरी प्रदेश सरकारले कस्तो समृद्ध ल्याउन खोजेको भन्दै प्रश्न गर्नुभयो ।

संसदको अर्को बैठक जेठ १३ गते दिउँसो ३ बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।