रुकुममा कांग्रेसको ‘छायाँ सरकार’

रुकुम, १३ वैशाख (जागरण) ।
नेपाली कांग्रेसले पहिलोपटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ । हिजो रुकुमको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो ।
कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छायाँ सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ ।
जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छायाँ सरकार गठन गरिएको कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।
जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छायाँ सरकार गठन गर्ने कांग्रेसको तयारी छ ।

रासस ।