कर्णालीको झिमझिमे विजुली किन ?

सुर्खेत, १३ जेठ (जागरण) । पछिल्लो समय कर्णाली प्रदेशका अधिकासं जिल्लामा विद्युत सेवा अनियमित हुदाँ नागरिकले सास्ती भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरणले सेवा नियमित बनाउन कुनै चासो नदिँदा नागरिकलाई समस्या परेको हो ।
कहिले हावाहुरीका कारण त कहिले लगातारको वर्षातका कारण, कर्णालीको विद्युत अनियमित हुने गरेको छ । विद्युत् नै नआउने र आए पनि कम भोल्टेजका कारण कर्णालीका उद्योगी, व्यवसायी, विद्यार्थीसँगै आम नागरिक मर्कामा परेका छन् ।

फाइल फोटो ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा अहिले पटक पटक विद्युतको अवरोध भइरहन्छ तर त्यो लोडसेडिङ्गले नभई प्राविधिक समस्याले गर्दा भएको विद्युत प्राधिकरणका इन्जिनियर मनोज अर्यालले बताउनुभयो ।
अचेल सुर्खेतमा दिनभरजसो विद्युत अवरुद्ध हुने गरेको छ । विद्युतकै समस्याले तीन दिनमा एक पटक आउने खानेपानीको जोहो गर्न समेत सुर्खेत उपत्यकाका नागरिकलाई समस्या भएको छ ।
सुर्खेतमा दैनिक ३ सय ५० एम्पियर विद्युत आउनुपर्नेमा बढीमा २ सय ५० देखि २ सय ८० एम्पियरसम्म आउने गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
विद्युत प्राधिकरण अनुसार कोहलपुरदेखि सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुरानो भएकोले समस्या हुने गरेको हो । एक सय ३२ केभीए लाइन नआउने बेलासम्म यो समस्या समाधान नहुने प्राधिकरणले जनाएको छ ।