कानूनी शिक्षा विषयक दुई दिने तालिम

सुर्खेत, १४ जेठ (जागरण) । मानवअधिकार र कानूनी शिक्षा विषयक दुई दिने तालिम आज वीरेन्द्रनगर ११ पिपिरामा सम्पन्न भएको छ ।
मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिका ११ नम्वर वडा कार्यालयको सहयोग र समन्वयमा तालिम सम्पन्न भएको हो ।
वडा नम्वर ११ का महिला तथा किशोर किशोरीहरुको सहभागीता रहेको तालिममा २०७५ भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिता २०७४ का प्रावधानहरु, घरेलु हिंसा, बालअधिकार, मानवअधिकारका र लागुऔषध दुव्र्यसन विषयमा प्रशिक्षण गराइएको छ ।


कार्यक्रममा शिवशक्ति सामुदायीक वनका अध्यक्ष तथा सहभागी मिना आचार्यले कानूनी प्रावधानका वारेमा महिलाहरुले जानकारी पाएका र समस्यामा परेमा कानुनी उपचारका बारे समेत सचेत रहने विश्वास व्यक्त गर्नुभयो ।
महिलाहरुले भर्खरमात्र जारी भएको मुलुकी संहिताका वारेमा पहिलो पटक जानकारी पाएको समेत आचार्यले बताउनुभयो ।
सहभागी भुमीसरा चुनाराले यो तालिमबाट घरेलु हिंसा र कानूनी व्यवस्थाबारे जानकारी हाँसिल गरेको बतउनुभयो ।
तालिमको पहिलो दिन तालिमको उद्घाटन गर्दे वडा सदस्य अर्जुन सुवेदीले तालिमबाट सहभागीहरुको अधिकार र कर्तव्य वारे जानकार हुने विश्वास गर्नुभयो ।
तालिम दोस्रो दिनको समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नन्दलाल शर्माले सिकेका कुरालाई जिवनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष शर्माले सवै वडा बासीहरुले अरुको सम्मान गर्दे हिंसा र अपराध रहित वडा निर्माणमा सहयोग पर्‍याउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै हुरेकका अध्यक्ष गणेश ओलीले कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानूनी राज्य स्थापना गर्न समुदाय स्तरबाटै लाग्न सवैलाई आग्रह गर्नुभयो । तालिममा ११ नं वडा कार्यालयका ४८ जनाको सहभागीता थियो ।
तालिमलाई हुरेक नेपालका अध्यक्ष अधिवक्ता गणेश ओली र पत्रकार सिता ओलीले सहजिकरण गरेका थिए ।