भाका सुसेल्दै मार्सी धानको रोपाई शुरु (अडियो सहित)

मानबहादुर कुँवर ।
जुम्ला, १५ जेठ (रेडियो खुला आकाश) । पछिल्लो समय लोप हुन थालेको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको आयोजना गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा रोपाई महोत्सव गरिएको हो ।
करिव तीन दशकदेखि छुमचौर ज्युलोमा धान लगाउन छाडिएको थियो । महोत्सवका माध्यमवाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
सिंजा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ हुँदैछ । तर जुम्लाको पातारासी गाउँपालिका छुमचौर ज्यूलोमा भने जेठको अन्तिममा रोपाई गर्ने चलन छ ।
जुम्लाको सिंजा, पानसय र चौधविस गरी तीन क्षेत्रमा विभाजित जुम्लामा जेठ पहिलो हप्तादेखि रोपाई सुुरु भएको छ । कृषकहरुले रमाइलो गरेर धान रोप्ने चलन छ ।
रोपाईंको समय कृषकहरुले रमाइलो गरेर धान रोप्ने चलन छ । विभिन्न गीत गाउँदै रोप्ने परम्पराले जिउलोमा रौनकता छाएको छ ।
हरेक कृषकले रोपाईंको मिति अगाडी नै तोकेका हुन्छन् । चन्दननाथ नगरपालिका १० का कृषक राजेश्वर देवकोटाले एक अर्काको रोपाईमा रोेप्नेरी, हली र गोरुसहित परिमो लाग्ने चलन रहेको बताउनुभयो ।
पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि कृषकमा मार्सी रोपाईं प्रति आकर्षण बढेको छ । जुम्लामा उत्पादन हुने मार्सी चामलको स्वाद निकै मीठो हुने भएकोले अहिले यसको माग देश बढिरहेको बताउनुहुन्छ कृषक प्रयागराज आचार्य ।
चैत महिनामा बीउ राखी जेठमा रोपिने मार्सी धान असार, साउन महिनामा गोडमेल गरी कात्तिकमा भित्र्याइने स्थानीय प्रतिक्षा आचार्यले बताउनुभयो ।
जुम्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाकाले जानकारी दिनुभयो ।
सुन्नुहोस् अडियो रिपोर्टः