सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानीको संकट थपिन थालेको छ । झुप्रा खोला स्थित पानीको मुख्य स्रोत नै सुक्दै गएपछि वीरेन्द्रनगरमा खानेपानीको संकट चुलिएको हो ।
१९ वर्षदेखि आपूर्ती हुँदै आएको खानेपानीको मुहान सुक्न थालेपछि वीरेन्द्रनगरमा खानेपानीको समस्या भएको छ । सन् २०२० सम्म एक लाख चारहजार जनसंख्यालाई खानेपानी वितरण गर्नेगरी १२ किलोमिटर दुरीमा रहेको झुप्रा खोलाबाट वीरेन्द्रनगरमा खानेपानी ल्याएको हो । तर आयोजनाको डिजाइन भन्दा जनसंख्या एक लाख ८१ हजार पुगेपछि दैनिक ८१ लाख ६४ हजार आठसय लिटर पानी अपुग भएको छ ।
जलवायू परिवर्तनको असरले खानेपानीको स्रोतमा ४७ प्रतिशत ह्रास आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता सँस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो ।
संस्थाले उपत्यकाको खानेपानी संकट टार्न इत्राम, खोर्के, बुलबुले र खरीबोरी खोलाबाट पानीको स्रोत थप गरेको थियो । तर खरीबोरी खोला बाहेक खानेपानीका अन्य स्रोतहरु सुक्न थालेका छन् ।
डिजाईनअनुसार दैनिक १ सय ५७ लिटर प्रति सेकेण्ड पानी आपूर्ति हुने अपेक्षा राखेपनि सुख्खा सिजनमा घटेर ८४ लिटर प्रतिसकेण्डमा झरेको छ । उपत्यकाको खानेपानी संकट हालकै स्रोतले नथेग्ने निष्कर्ष निकाल्दै भेरी नदीको पानी पम्पिङ्ग गर्ने आयोजना अघि बढाउन लागिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका प्रमुख पूर्णबहादुर जुहारतनले बतानुभयो ।
संस्थाले वीरेन्द्रनगरमा हाल दैनिक चार दिनको फरकमा पानी वितरण गर्दै आएको छ । तर उपत्यकाको खानेपानी संकट टार्ने दिर्घकालिन आयोजना बृहत भेरी पम्पिङ्गलाई तत्काल अघि बढाउन स्थानीयको माग छ । भेरी आयोजना सम्पन्न भए दैनिक ३ सय ८० लिटरप्रति सेकेण्ड पानी वीरेन्द्रनगरमा आपूर्ति गरिने छ ।