सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले साँसद्हरुले उठाएका सवाललाई समेटेर आगामी आर्थिक वर्षको वजेट र योजना तयार गर्ने प्रतिवद्धता जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रदेशसभामा पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका सवाललाई सकेजति समेटिने प्रतिवद्धता जनाइएको हो ।
साँसद्हरुले उठाएको सवालको जवाफ दिँदै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । यो सँगै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ ।
वैठकमा पहिलो दिन आठ जना र दोश्रो दिन नौ जनाले सुझाव दिएका छन् ।
पहिलो दिन प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, चन्द्रबहादुर शाही, पद्मी क्यारी बोहोरा, देवी ओली, अमरबहादुर थापा, राजु नेपाली र ठम्मर विष्टले सुझाव दिएका थिए । यसैगरी दोश्रो दिन वीरबहादुर शाही, कुर्मराज शाही, रातो कामी, सुशील थापा, मनरुपा शाही, झोवा वि.क., विन्दमान विष्ट, गोपाल शर्मा र शोसिला शाही गरी नौ जनाले सुझाव दिएका छन् ।
प्रदेश सभाको अर्को वैठक अव जेठ २२ गते दिउसो तीन बजे बस्नेगरी स्थगित भएको छ ।