भावना हमाल ।
दैलेख, १७ जेठ (रेडियो ध्रुवतारा) । कर्णाली प्रदेशका थुप्रै पर्यटकीय स्थलहरु मध्येको एक सुन्दर र आकर्षक स्थल हो दैलेखको महावु धाम । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको महावुधाममा पुग्ने र पूजा गर्ने परम्परा छ । महावै देखि तराईका बर्दिया, कैलाली र बाँकेका सुन्दर फाँटको अवलोकन सजिलै गर्न सकिन्छ । पाटनका बीच–बीचमा साना–साना ताल, नजिकै केही गाइगोठ, वरपर चौरमा भेडाबख्रा चर्नाले महावुको महिमा बेग्लै देखिन्छ ।
महावु जगनाथलाई विशेषगरी महादेवको स्थानको रुपमा लिने गरेको पाइन्छ । त्यहाँ तिर्थयात्री र भक्तजनको भिड लाग्ने गर्दछ । महावुमा गई आफ्नो मनोकामना पुरा गर्नका लागि प्राथना गरे मनको ईच्छा पुरा हुने विश्वास रहेको नारायण नगरपालिका–१ दैलेखका बिष्णु गौतम बताउनुहुन्छ ।
चारैतिर अग्ला र अध्याँरा लेकहरू, नजिकैको सुन्दर पाटनको बीचमा विशाल ढुङ्गा र त्यसमाथि पूजा आराधना गर्नको लागि शिवलिङ्गको मूर्ति छ । अहिले महावुको नामबाट नै गाउँपालिकाको नाम पनि महावु रहन गएको छ ।
हुन त स्वर्ग गएर फर्किनेहरुले त्यहाँको अनुभूति प्रस्तुत गरेका छैनन् तर सिमसिमे पानीसँगै हावाको वेगले फूलहरू हल्लिरहँदा त्यहाँ पुग्ने जो कोही पनि स्वर्गै पुगेको बताउँछन् । यति रमणिय र आनन्ददायक ठाउँमा पुग्न हाल सम्म कुनै सडक र बस्ने आश्रमको व्यबस्था नहुँदा पर्यटकले सास्ती भोग्नुपरेको बताउनुहन्छ सुर्खेत देखि महावुको अवलोकनमा गएका गणेश मल्ल ।
दैलेख भूर्तिका ब्राम्हणका छोरा चलु आचार्य आवाज विहिन थिए । महावुधाममा ढुंगाबाट उत्पन्न शिवलिङ्ग सबैभन्दा पहिले आवाजविहीन आचार्यले भेटाएको किंवदन्ती छ । उनले धेरै गाई पालेको हुनाले एउटा गाईले दूध दिन छाडेपछि दूध किन दिएन भनेर चियो गरे । त्यसपछि उनले त्यो ठाउँमा के रहेछ भनि हँसियाको टुप्पोले कोट्याएर हेर्दा शिवलिङ्ग देखे । त्यसपछि महादेव प्रकट भई तिमि मलाई सधैं दुध चढाउने गर्नु र यहाँ शिवलिङ्ग देखेको कसैलाई पनि नभन्नु, यसो गरे तिमी बोल्न सक्ने हुनेछौ भन्ने गरेको किंवदन्ती छ । महादेवले भनेअनुसार गरेकाले उनी बोल्न र वेद पढेर पूजा गर्नसक्ने भएका थिए भन्ने विश्वास रहेको महावु गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाले बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि ६७ किलोमिटर गाडीको यात्रामा दैलेख पुगि सदरमुकाम दैलेखदेखि ४५ किलोमिटर सवारी साधन र त्यसपछि ४ घण्टाजति पैदल यात्रा गरे पछि महावु पुगिन्छ । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल भएपनि यस्को राम्रो सँग प्रचार–प्रसार हुन सकिरहेको छैन । अहिले स्थानीय तह, प्रदेश र केन्द्र सरकाले ध्यान दिइरहेको भय पनि राम्रो सँग व्यवस्थापन अझै गर्न सकिएको छैन । महावुको बारे प्रचार–प्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको निकै चाप बढी यहाँका्े आर्थिक उन्नतीमा ठुलो सहयोग पुग्ने देखिन्छ ।
सुन्नुहोस् अडियोः