सुर्खेत, १८ जेठ (जागरण) । नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले कर्णालीमा सरकारविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेशको राजधानीमा पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकार एकलौटी शैलीले चलिरहेको भन्दै सरकार विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताउनुभयो ।
अहिले नेपालमा विकासका ठूला ठूला आश्वासन र सपनाको आवश्यकता नरहेको बताउँदै उहाँले रेल र पानी जहाँज जनताको इच्छा नरहेको दावी गर्नुभयो ।
जागरण अभियान सरकार विरुद्धको अभियानमात्रै नभएर पार्टीका नेता कार्यकर्ताले आफूले आफ्नो आत्ममूल्याङ्कन गर्ने अभियान पनि भएको बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशका नौ वटा जिल्लाको भ्रमण सकेर काठमाण्डौँ जाने क्रममा वीरेन्द्रनगरमा कार्यकर्ता भेटघाट गरिएको हो ।