सुर्खेत, २८ भदौ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका शैक्षिक संस्थाका प्रतिनिधिहरुले नतिजा देखिनेगरी शैक्षिक गुणस्तर सुधारका लागि काम गर्ने प्रतिवद्धता गरेका छन् ।
सिम्ता गाउँपालिकाभरका सवै शैक्षिक संस्थाका प्रतिनिधिहरुले अहिलेसम्म देखिएका समस्या, समस्या समाधानका उपायलगायतका विषयमा छलफल गरी अव जसरी पनि शैक्षिक गुणस्तर सुधारका लागि क्रियाशिल हुने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सिम्ता गाउँपालिकाअन्र्तगत पर्ने चोल्पा स्रोत केन्द्रका स्रोत व्यक्ति मान बहादुर सिंहले सिम्ता गाउँपालिकाभित्रका विद्यालयको भौतिक, शैक्षिक ,र आर्थिक अवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको छ । त्यसकै आधारमा छलफल गरी गुणस्तर सुधारका लागि योजना बनाइएको गाउँपालिकाका सञ्चार विभाग प्रमुख टेकनारायण वि.क.ले जागरणलाई जानकारी दिनुभयो ।
सिम्ता गाउँपालिकामा ७२ वटा समुदायिक र ६ निजि गरी ७८ वटा विद्यालय रहेका छन् । अन्तरक्रियामा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले शैक्षिक गुणस्तर बृद्धिका लागी ७५ प्रतिशत योजना निर्माण र २५ प्रतिशत कार्यन्वयनको पाटोलाई मजबुद बनाई सिम्ताको शैक्षिक गुणस्तर बृद्धि गरिने बताउनु भएको छ ।
सिम्ता क्षेत्रमा अझैपनि ३९ प्रतिशत गरिबिको रेखामुनि परेको जनसंख्या रहेको भन्दै शिक्षाको विकास भए मात्र विकासको अनुभुति हुने उहाँको भनाई छ ।
यस्तै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले हरेक स्थानिय तहमा एक नमुना विद्यालय बनाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरी शिक्षाको आमुल परिवर्तन गर्ने अभिभारा स्थानिय तहको रहेको उहाँले जोड दिनु भएको छ ।
कार्यक्रममको प्रमुख अतिथि समेत रहनु भएका शाहले विद्यालयलाई गुणस्तरीय शिक्षा र प्रभावकारी बनाउन पहिलो कर्तव्य प्रधानाध्यापकको भएकोले बिद्यालयलाई नमुना बनाउन ईमान्दार, बफादार जिम्मेवार भएर लाग्नसम्पुर्ण प्रधानाध्यापकलाई निर्देशन दिनुभयो ।