दलित आयोग गठन गरौँः जनप्रतिनिधि

सुर्खेत, १८ जेठ (जागरण) । कर्णालीका जनप्रतिनिधिहरुले प्रदेशस्तरिय दलित आयोग गठन गर्न माग गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित दलित मानव अधिकार प्रवद्र्धनका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णालीका जनप्रतिनिधिहरुले दलित आयोग गठन गर्न माग गरेका हुन् ।
प्रदेशको जम्मा जनसंख्या मध्ये २४ प्रतिशत दलित समुदायको बसोबास रहेकोले प्रदेश स्तरिय दलित आयोग गठन गर्नु आवश्यक रहेको कर्णाली प्रदेश सभाका सदस्य रातो कामीले माग गर्नु भयो ।


दलितमैत्री ऐन कानुन निर्माणमा सहयोग पु¥याउन तथा दलित समुदायकोे पक्षमा काम गर्न आयोगको गठन जरुरी भएको कामीले बताउनुभयो ।
यस्तै, प्रदेश सभाका सदस्य तथा सामाजिक विकास समिति संयोजक राजु नेपालीले सविधानले दिएको दलितको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न दलित आयोगको गठन तत्काल गर्न माग गर्नुभयो । सांसद नेपालीले राज्यका हरेक तहमा दलित समुदायको उपस्थिती हुन नसके दलित समुदायका समस्या समधान नहुने तर्क गर्नुभयो ।
यसैबीच, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दलितमैत्री कानुन निमार्ण गरिने आश्वासन दिनुभएको छ ।
पछाडी परिरहेको दलित समुदायलाई मुल प्रवाहीकरणमा ल्याउन अव बन्ने हरेक कानुनहरु दलितमैत्री निर्माण गरिने मन्त्री भण्डारीले बताउनुभयो ।
मन्त्री भण्डारीले मानव समाजको कलंकको रुपमा रहेको जातिय छुवाछुतलाई सदाका लागी अन्त्य गर्न कर्णाली प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।