चिसो कम भएसँगै रारामा पर्यटक बढेको बढ्यै

खड्क सुनार ।
मुगु, १८ जेठ (रेडियो सौर्यदय) । चिसो कम भएसँगै पछिल्लो समय कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको संख्या वृद्धी भएको छ । सुन्दर मनोरम मानिने रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धी भएको हो । विश्व सामु चिनाउन सफल भएको कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अवस्थित रारा तालको चारैतिरका बोटबिरुवा र रूखमा पालुवाहरु बिस्तारै छाउन थालेका छन् । रारामा हिमाल र हरिया पहाडको प्रतिविम्ब देखिन थालेको छ ।
पुस र माघको भारी हिमपातले भत्किएको बाटो भने केही मात्रामा बिग्रिए पछि आवात जावतमा समस्या परेको आन्तरिक तथा बाह्य पर्यटकहरुले गुनासो गरेका छन् । यतिखेर तराई र पहाडमा गर्मी बढेसँगै हिमाली क्षेत्रमा चिसो भने घटेको पाइएको छ । प्राकृतिक फेरबदलसँगै रारा यात्राको याम पनि सुरु भएको रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले बताउनुभयो ।
चैतदेखि साउनसम्म रारा घुम्ने उपयुक्त मौसम मानिने भन्दै भण्डारीले चैत पहिलो हप्तादेखि नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिएको बताउनुभयो । निकुञ्जका अनुसार दैनिक एक सय ५० जनाको हाराहारीमा पर्यटक रारा पुगेका छन् ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालनमा आएसँगै राराका यात्रुलाई पनि सहज भएको छ । यसले पनि आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्दै गएको वार्डेन भण्डारीले बताउनु भयो । एक वर्षमा १५ हजार आन्तरिक र दुई सय ४२ बाह्य पर्यटक रारा पुगेका छन् ।
यसैबीच, यसपटक रारा पुग्ने पर्यटकको सुविधाका लागि सूचना केन्द्र राखिएको छ । नेपाली सेनाको टोलीले तालको नियमित सफाई अभियान चलाइरहेको छ । रारा सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति रवि केसीकाअनुसार पर्यटकको उपचारका लागि सेनाले स्वास्थ्य क्लिनिकको व्यवस्था गरेको छ ।