डोल्पामा आजदेखि निःशुल्क पाठेघर शल्यक्रिया शुरु हुँदै

डोल्पा, १४ वैशाख (जागरण) । जिल्ला अस्पताल डोल्पामा आजदेखि पाठेघरको निस्शुल्क शल्यक्रिया सेवा शुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल सरकारको संयुक्त आयोजनामा प्रतिष्ठानले डोल्पामा पहिलो पटक महिलाको पाठेघरको शल्यक्रिया हुन लागेको अस्पतालले जानकारी दिएको छ ।
विशेषज्ञ डाक्टरहरुसहित ७ जनाको विशेष टोलीले पहिलो पटक डोल्पामा नि–शुल्क शल्यक्रिया गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल सर्जन डक्टर अनुप समालले जानकारी दिनुभयो ।
दुर्गम डोल्पामा प्रतिष्ठानले पाठेघरको शल्यक्रिया गर्ने उद्धेश्यले नि–शुल्क शिविरको आयोजना गरिएको बताउनुभयो । नि–शुल्क शिविरमा जिल्लाका १० जना महिलाको शल्यक्रिया गरिने चिकित्सक समालले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा पहिलो पटक नि–शुल्क पाठेघरको शल्यक्रिया हुने भए पछि गाउगाउबाट पाठेघरका समस्या भएका महिलाहरु र अन्य चेकजाच गराउने महिलाहरु जिल्ला अस्पताल पुगेका छन । हिमाली जिल्लाका महिलाहरुलाइ कामको अत्याधिक भार पर्ने र पाठेघरको समस्या आउने गरेकोले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।