मानबहादुर कुँवर ।
जुम्ला, १९ जेठ (रेडियो खुला आकाश) । मानव निर्मित सुन्दर र सङ्लो ताल, पुरानो कलात्मक शैलीका घरहरु, हरियाली वातावरण । घुघुत्तीभित्रको स्माल भिलेज, अर्थात् सानो गाउँभित्रको विशेषता हो यो । हो यही वातावरणमा रमाउन हिजोआज जुम्ला र बाहिरबाट जुम्ला पुगेका नागरिकहरु पनि पुग्ने गरेका छन् ।
विशेषगरी यो क्षेत्र कर्णाली प्राविधिक शिक्षालयका लागि निर्धारण गरिएको क्षेत्र हो । तर यही क्षेत्रभित्रको वातावरणले जो कोहीको पनि मन तान्छ । जुम्ला पुग्ने जो कोही पनि घुम्न त्यस क्षेत्रभित्र पुग्छन् ।
जुम्लाको घुघुत्तिमा रहेका पुराना कलात्मक भौतिक संरचना र कृतिम तालले पर्यटकको मन लोभ्याउने गरेको छ । पछिल्लो समय स्माल भिलेजको रुपमा चिनिने घुघुत्तीमा पछिल्लो समय पर्यटकहरुको लर्को लाग्ने गरेको छ । बाहिरी जिल्लाबाट जुम्ला पुगेका र जुम्लाकै स्थानिय नागरिकहरु त्यहाँको रमणिय वातावरणको अवलोकन गर्न घुघुत्तीमा पुग्छन् । कर्णाली प्राविधिक शिक्षालयभित्र पर्ने सानो गाउँ पर्यटकि क्षेत्रको रुपमा परिचित हुन थालेको छ ।
जुम्ला सदरमुकाम खलंगा बजार देखि करिव २ किलोमिटर दक्षिणतर्फ जाँदा घुघुत्ति पुगिन्छ । विशेषगरी पुराना कलात्मक संरचनाको अवलोकन गर्ने, तनाव कम गर्नका लागि वातावरणमा रमाउने, घुम्ने, वनभोज खाने जस्ता उद्देश्यले पर्यटकहरु भित्रिने गरेको शिक्षालयकी प्रमुख आशा कुमारी श्रेष्ठले बताउनु भयो ।
अहिले दिनमा २० देखि ३० जना सम्म पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पर्यटकले आफ्नो चाहना अनुसार घुमफिर गर्न पाउन्छन् । तर पर्यटकबाट कुनै शुल्क भने लिइँदैन । शिक्षालयको नजिकै पदमबहादुर महतराले ११ वर्ष अगाडि एक्लै होटल व्यवसाय सुरु गर्नुभएको थियो तर अहिले व्यापार फस्टाउँदा उहाँका वरिपरी अन्य थुपै्र होटल व्यवसायी थपिसकेका छन् ।
शिक्षालय सडक सुविधाको पहुँचमा जोडिए यता जुम्लामा पुग्ने सरकारी अधिकारीदेखि सुरक्षाकर्मी, सर्वसाधारण, सामाजिक अभियान्ता सम्मले अवलोकन गर्ने गरेको शिक्षालयलाई अहिले स्माल भिलेज भन्ने गरिएको शिक्षालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
शिक्षालय नै पर्यटकिय क्षेत्र बन्ने धेरैले सोच्न सक्ने विषय होइन, तर बन्यो त्यस्तै । यो राम्रै पक्ष हो । एकातिर पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदा अर्कोतर्फ शिक्षालयको प्रमुख उद्देश्यलाई भने सवैले ख्याल गर्न जरुरी हुन्छ ।
सुन्नुहोस् अडियोः