सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा अनुदानको रुपमा लगानी भएको रकम दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
विगतमा सरकारले दिने अनुदानका रकम र सम्पत्ती दुरुपयोग भएका इतिहाँस रहेकाले अव नियमीत अनुगमन गरी गल्ती भेटिए कारबाहीसमेत गरिने भएको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सरकारकी प्रवक्ता एवम् कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले यस्तो बताउँनुभएको हो ।
सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको छ ।
भेटनेरी अस्पताल तथा पशु सेवा केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त ५० लाख रुपैयाँ अनुदान सहयोगबाट बोका खरीदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको पशु सेवा केन्द्रका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।
मन्त्री केसीले आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई ३४ वटा जर्सी गाई प्रदान गर्नुभएको छ । मन्त्रालयको युवा लक्षित कार्यक्रम अन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे ।