सुर्खेत, २१ जेठ (जागरण) । अघोषित लोडसेडिङका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकले मार खेप्न परेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दैलेखका नागरिकहरुले अघोषित लोडसेडिङ्गको मार खेप्नु परेको हो ।
यी जिल्लाहरुमध्ये सुर्खेत जिल्लामा समस्या हुनासाथ अरु सवै जिल्लामा बत्ती जाने गरेको छ । लोडसेडिङ नभए पनि छिनछिनमा विद्युत जाने समस्याले उपभोक्ता मात्र होइन, स्वयं विद्युतका कर्मचारी पनि हैरानी भएका छन् ।
विजुली एकछिनमा आउने र एकछिनमै जाने गर्नाले आफूहरु समस्यामा परेको सुर्खेतको वीरेन्द्रनगरमा व्यापार गर्ने गर्नुभएका सुशील श्रेष्ठले बताउनुभयो ।
उहाँले यस्तै अवस्था भए व्यवसाय नै धरासायी हुने बताउनुभयो । यस्तै भेरी नगरपालिका ४ का जीतबहादुर शाहले विद्युत आउँने र जाने ठेगानै नहुने बताउनुभयो ।
३३ केभीएको कोहलपुर स्टेशनबाट धेरै ठाउँमा विद्युत वितरण भएको हुँदा समस्या आएको विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कतिपय मर्मतमा ढिलाई हुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुने गरेको छ ।