छुवाछुत मुक्त्त भएको १३ वर्ष पुग्यो, धेरैलाई थाहै छैन

सुर्खेत, २१ जेठ (जागरण) । नेपाललाई जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको आज १३ वर्ष पुगिसक्दा पनि धेरैजसो नागरिकलाई भने यसबारे थाह नभएको पाइएको छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापना भएको प्रतिनिधिसभा वैठकबाट नेपाललाई जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्रि घोषणा गरिएको थियो ।
सुर्खेतको बराहताल गाउँपालिका ८ की चन्द्रा शाहीले देशलाई जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गरिएको छ भन्ने कुरा पहिलो पटक सुनेको बताउनुभयो । दिवसका अवसरमा आज साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बराहताल गाउँपालिकासंगको सहकार्यमा आयोजना गरेको र्‍यालीमा सहभागी शाहीले घोषणा बारे पहिलो पटक सुनेको बताउनुभयो ।
यसबारे आफूजस्तै गाउँगाउँमा सबै मानिसलाई जानकारी दिनुपर्ने उहाँ बताउनुहुन्छ । त्यस्तै र्‍यालीमै सहभागी वराहताल ५ की मनिसा लामिछानेले पनि नेपाललाई जातिय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गरिएको कुरा पहिलो पटक सुनेको बताउनुभयो । नेपाललाई जातिय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गरिसकिएकाले कसैले पनि भेदभाव तथा छुवाछुत गर्नु हुन्दैन भन्ने कुरा सबै नेपालीलाई थाहा हुनुपर्ने लामिछानेको सुझाव छ ।
बराहतालमा मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष कर्ण वि.क.ले नेपाललाई जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गरिएपनि अझै पनि विभेद तथा छुवाछुत कायमै रहेको बताउनुभएको छ । जातिय भेदभाव तथा छुवाछुत सम्बन्धीका कानुनी प्रावधानबारे सबै नागरिकलाई जानकारी गराउनुका साथै घर घरमा चेतना फैलाउन आवश्यक रहेको अध्यक्ष वि.क. को भनाई छ ।
राष्ट्रिय रुपमा घोषणा गरिएपनि विभेत तथा छुवाछुत कायमै रहेकाले घर घरमा जागरण ल्याउनेगरी गाउँपालिकाले पुन जातिय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गर्नुपर्ने उहाँको माग छ ।
यसैबीच साझा आवाज कार्यक्रमको आयोजनामा गरिएको र्‍यालीपछि कोणसभामा बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सरकारले जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेकाले सबैले व्यवहारमै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
मानिसको व्यवहार परिवर्तन नभएसम्म घोषणा घोषणामै सिमित हुने भन्दै अध्यक्ष बस्नेतले दलित गैर दलित सबैले संकल्प गरेर विभेद र छुवाछुतको व्यवहार त्याग्नुपर्नेमा जोड दिनुभयो ।
साझा आवाज परियोजनाको आयोजनामा कालिकोटको नरहरीनाथ गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि आज जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको र्याली निकालिएको छ ।
यसैबीच, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि विशेष कार्यक्रम गरेको छ ।