दैलेख, १४ वैशाख (जागरण) । दैलेखको नौमुले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिहंले विहीवार (हिजो) आफ्नै गाउँपालिका कार्यालयमा ताला लगाईदिनुभएको छ । उपाध्यक्ष सिहंले आफुलाई कुनै जानकारी नदिई अध्यक्ष र कर्मचारीले एकलौटी काम गर्न खोजेको भन्दै गाउँपालिका कार्यालयमा ताला लगाउनुभएको हो ।
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग रुष्ट उहाँले गाउँपालिकामा सञ्चालन भएका योजना र नीतिगत निर्णयमा पनि आफुलाई पटक पटक उपेक्षा गरिएको आरोप लगाउदै कार्यालयमा ताला लगाउनुभएको हो ।
‘मैले भनेको कुरा सुनुवाइ नै नहुने, अनि मैले जनतालाई के जवाफ दिने ?’, उहाँले आक्रोशित हुँदै प्रश्न गर्नुभयो, ‘जनतासँग वाचा खाएर भोट लिएको छु, जे गर्न पनि तयार छु ।’
गाउँपालिकामा कर्मचारीतन्त्र हावी भएकाले जनप्रतिनिधीहरु ओझेलमा परेको उहाँको गुनासो रहेको छ । राजश्व परामर्श समिती संयोजक रहेकी उपाध्यक्ष सिहंले गाउपालिकाको राजश्ववारे जानकारी लिन खोज्दा अध्यक्षको निर्देशनमा कर्मचारीले नदिएको दुखेसो पोख्नुभयो ।
अनुगमन समितिको संयोजक भएपनि आफुलाई थाहा नै नदिई अध्यक्ष लगायत अनुगमनमा जाने र आफुलाई खवर नगर्ने जस्ता प्रवृति देखिएकोले विरोधमा उत्रिएको उहाँको भनाई छ । दैनिक कार्यालयमा आउने सेवाग्राहीको काम छिटो छरितो नहुने र कर्मचारीले ढिलासुस्ती गर्ने गुनासो पनि आएपछि धेरैचोटी कर्मचारीहरुको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरेको कारण ताला लगाउनुपर्ने वाध्यात्मक परिस्थिती देखिएको उहाँले बताउनुभयो ।
विहिवार (हिजो) विहान साढे १० वजेतिर उहाँले गाउपालिका कार्यालयमा पुगी अध्यक्ष भदे वुढा र प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुंगानाको कार्यकक्षमा ताला लगाउनुभएको थियो । अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा उहाँले ताला लगाउदा कार्यालयमा सेवा लिन आएका सर्वसाधारणहरु दिउँसो १ वजेसम्म सेवा पाउनवाट वन्चित भएका थिए ।
उपाध्यक्ष सिंहले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने अडान लिएपछि ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले वलपुर्वक कार्यकक्षको ताला खोलेको थियो । माग पुरा नहुदै ताला खोलिएकोप्रति आक्रोशित उपाध्यक्ष सिहंले शुक्रवार पुन ताला लगाउने धम्की दिनुभएको छ ।
नौमुले गाउपालिकाका अध्यक्ष वुढाले उपाध्यक्षको माग जायज भएपनि आफुहरुले एकलौटी रुपमा कुनै पनि कार्य नगरी छलफल र सरसल्लाहमा गर्ने गरेको दावी गर्नुभएको छ ।