समृद्ध कर्णाली बनाउनेगरी नीति तथा कार्यक्रम ल्याउन सुझाव

सुर्खेत, २१ जेठ (जागरण) । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूले १० वर्षभित्रै समृद्ध प्रदेश निर्माण गर्नेगरी आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले जनताको जीवनमा परिवर्तन देखिने गरी सरकारले काम गर्नुपर्ने आवश्यकता बताउनुभयो ।
उहाँले तथ्यांकमा बजेट खर्च देखाएर मात्र नहुने भन्दै खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने बताउँनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सांसद जीवन बुढाले कर्मचारी, कानून र संरचना अभावका बाबजूद पनि प्रदेश सरकारको १ वर्षे कार्यकाल सन्तोषजनक रहेको बताउनुभयो ।
यसैगरी प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमुलक आयोजना समावेश गर्न जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले कर्णालीको बहुआयामिक गरीबी हटाउन रोजगारमुलक कार्यक्रममा जोड दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको राय सुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाकासहितको नीति कार्यक्रम ल्याउन लागेको बताउँनुभयो ।