विजुलीको समस्या समाधानः तत्कालिन विकल्प रुख फडानी, दिर्घकालिन १३२ केभिए

सुर्खेत, २३ जेठ (जागरण) । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशका पाँच जिल्लाको विद्युत समस्या समाधान गर्न तत्कालका लागि छोउछाउका रुख फडानी गर्ने भएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान र रुकुम पश्चिममा विद्युत सम्वन्धि पटक पटक समस्या हुने भएपछि प्राधिकरणले तत्कालका लागि रुख फडानी गर्ने तयारी गरेको हो ।


नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक छेउका रुखहरुका कारण कर्णालीका केही जिल्लामा विद्युत अवरोध हुने गरेको बताउनुभएको छ ।
घिसिङले सडक छेउमा भएका रुखहरुमा बिजुलीका तारहरु ठोकिएर विद्युत प्रवाह रोकिने गरेको बताउनुभयो ।
कर्णालीका पाँच जिल्लामा एक पटक विद्युत अवरुद्ध हुँदा १० देखि १५ घन्टाभन्दा बढी समय विद्युत नआउने र बिजुली आएपनि छिनछिनमा अवरुद्ध भएर नागरिकहरु मर्कामा परेको भन्दै उहाँले दिर्घकालिन रुपमा समस्या हल गर्न एक सय ३२ केभी प्रसारण लाइन विस्तारको तयारी सुरु भएको बताउनुभयो ।