भावना हमाल ।
दैलेख, २३ जेठ (रेडियो ध्रुवतारा) । शिरशिर हावा चलिरहेको छ । हावा चलिरहेको डाँडैबाट दैलेखको सदरमुकामसहित अधिकांश ठाउँको दृश्यावलोकनको मज्जा । कोही फोटो खिचिरहेका छन्, कोही सुन्दर डाँडाकाँडा, हरियाली वातावरण अनि मन्दिरमा दर्शन गरिरहेका छन् । यस्तै देख्न सकिन्छ बेलासपुर मन्दिर परिसरमा ।
प्रशिद्ध धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सामाजिक महत्व बोकेको मन्दिर हो, वेलासपुर । दैलेख सदरमुकाम नजिकै रहेको वेलासपुर मन्दिरको दर्शन गर्न पुग्ने पर्यटकको संख्या पछिल्लो समय बढ्दो छ ।
दैलेख सदरमुकाम देखि करिव पाँच मिनेट सवारी साधनको यात्रा र त्यसपछि डाँडाको थुम्कोमा पुग्न ३ सय २६ वटा सिंढी पार गरेपछि वेलासपुर मन्दिर पुगिन्छ । जव सिंढी चढ्न सुरु हुन्छ त्यो बेलादेखि नै रमणिय वातावरणमा जो कोही पनि रमाउँछ ।
ऐतिहाँसिक रुपमा पुर्वमा चौबिसे र पश्चिममा बाइसे राज्य हुँदा यहाँ पनि एउटा राज्य वेलापुर राज्यको राजकाज शुरु भएको र बेलासपुरको स्थापना भएको बताउनुहुन्छ, मन्दिरका पुजारी रत्न प्रसाद रेग्मी ।
हरेक वर्ष वडा दशैँको नवरात्रीमा भब्य मेला लाग्ने बेलासपुरमा अन्य समयमा पनि पुजापाठ गर्नेहरु पर्यटकको रुपमा जाने गर्दछन् ।
बेलासपुर भ्रमण गर्ने अधिकांश पर्यटकले आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वासका साथ भेटी समेत चढाउछन् ।
अहिलेसम्म मन्दिरबाट संकलन भएको भेटीको रकम कता लगानी हुन्छ भन्ने एकिन् छैन । तर अव भेटीलगायत जिन्सी सामग्रीलाई पारदर्शी, व्यवस्थित गरी मन्दिरको विकासमै लगाउनुपर्ने नारायण नगरपालिका २ का स्थानिय नागरिक भुपेन्द्र मल्लको भनाई छ ।
बेलासपुरलाई एउटा मन्दिरको रुपमा मात्रै नभई भ्युटावरको रुपमा विकास गर्दा अझै धेरै पर्यटकलाई भित्र्याउन सकिने मन्दिरका पुजारी रेग्मीको भनाई छ ।
नारायण नगरपालिका भित्र रहेको मन्दिरलाई एउटा उद्यानको रुपमा विकास गरी प्रसार–प्रचार गर्न सके अझै धेरै पर्यटन भित्र्याउन सकिने देखिन्छ । पर्यटन विकासलाई नगरपालिकाको आन्तरिक आर्थिक श्रोतसँग पनि जोड्न सकिन्छ । यसका लागि स्थानिय नागरिक, स्थानिय तथा प्रदेश सरकार सवै लाग्न जरुरी छ ।
सुन्नुहोस् अडियो रिपोर्टः