सुर्खेत, २५ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पारित गरियोस् भनि पेश गर्नुभएको नीति तथा कार्यक्रम वहुमतले पारित भएको हो । वैठकमा सभामुख राजबहादुर शाहीले पक्ष र विपक्षमा ध्वनि मत माग गर्दा नेपाली काँग्रेससंग सम्वद्ध साँसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा हुन्न भने मत व्यक्त गरेका थिए । तर हुन्छ भन्नेहरुको वहुमत भएसँगै नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रदेश सभाको वैठकमा साँसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा कोही पनि प्रतिपक्षि हुन नहुने बताउनुभएको छ । सरकारले कर्णालीको विकास र समृद्धिको लागि सवै पक्षसंग व्यापक छलफल सहित नीति कार्यक्रम ल्याएकाले कोही पनि प्रतिपक्षि बन्न नहुने उहाँले बताउनु भएको हो ।
मुख्यमन्त्री शाहीले कानुन, संरचना र कर्मचारी अभावका कारण चालु आवमा अपेक्षाकृत काम हुन नसके पनि सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय सरकार विचको सहअस्तित्व र समन्वयका आधारमा मात्रै समृद्धिको सपना पुरा गर्न सकिने वताउदै मुख्यमन्त्री शाहीले पुर्वाधार विकासको काम संघीय सरकारले गर्ने र गरिवि निवारणको काम प्रदेश सरकारले गर्ने नीति आवश्यक रहेको बताउनुभयो ।
वजेट विकेन्द्रीत गर्दा परिणाममुखी काम गर्न नसकिने वताउदै मुख्यमन्त्री शाहीले १ करोड माथिका परियोजनामा मात्र वजेट व्यवस्था गर्ने नीति लिईएको स्पष्ट पार्नुभयो । साना लगानीका योजना कार्यान्वयनका लागि वजेट सहित स्थानीय तहलाई जिम्मेवारी दिईने उहाँको भनाई छ ।
मुख्यमन्त्री शाहीले गरिवि निवारणका लागि श्रम कम्पनी, श्रम सहकारी र श्रम समुहको परिचालन गर्ने मोडेलमा वजेट परिचालन गरिने बताउनुभयो । हचुवाका आधारमा वजेट विनियोजन गर्दा सदुपयोग हुन नसकेको भन्दै मुख्यमन्त्री शाहीले विस्तृत परियोजना प्रतिवेदनका आधारमा मात्र वजेट विनियोजन गर्ने नीति लिईएको प्रष्ट पार्नुभयो ।
त्यसका लागि ईन्जीनियरिङ्ग कम्पनीको आवश्यकता रहेकोले सरकार ईन्जीनियरिङ्ग कम्पनी स्थापनाको निश्कर्षमा पुगेको मुख्यमन्त्री शाहीले बताउनुभयो । पहिचान भएका योजनाहरुको ईन्जीनियरिङ्ग कम्पनीले विस्तृत अध्ययन, सर्भे, डिजाईन र लागत ईस्टीमेट तयार गर्ने र त्यस्ता योजनाहरुमा वजेट विनियोजन गरेर कार्यान्वयनमा लगिने बताउनुभयो ।