सुर्खेत, १४ वैशाख (जागरण) । प्रदेश सरकारले केन्द्रीकृत मानसिकताबाट बजेट ल्याएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा सांसदहरुले संविधान र संघीयताको मर्म विपरीत केन्द्रीकृत र पुरानै शैलीबाट बजेट ल्याएको टिप्पणी गरेका छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हिजो चालू आव ०७४/७५ का लागि एक अर्ब दुई करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका थिए ।
बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारप्रति शंकाको दृष्टिकोण पैदा हुने गरी बजेट ल्याईएको बताउनुभयो ।
सांसद धर्मराज रेग्मीले प्रदेश सरकार सत्ताको साँघुरो घेरामा बसेर जनताको भावनामाथि खेलवाड गर्न पुगेको आरोप लगाउनुभयो ।
सांसद रेग्मीले अर्थमन्त्रीकै क्षेत्रमा दर्जनौं कार्यक्रम पारिएको भन्दै यसप्रकारको मानसिकताले कर्णालीको विकास नहुने जिकिर गर्नुभयो ।
सांसद करबिर शाहीले बजेटले अन्यौलता, अनिश्चिता थपेको बताउनुभयो । उहाँले सुर्खेत र सल्यानलाई बढी प्राथमिकता दिएको भन्दै उहाँले केही योजनाहरु जिल्ला छुवाउने नाममा मात्रै अघि सारिएको बताउनुभयो । सांसद बद्मी कुमारी लोहारले डोल्पालाई प्राथमिकतामा नपारिएको गुनासो गर्नुभयो । एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले परम्परागत ढंगले बजेट आएको भन्दै आगामी आवको बजेट ल्याउँदा सरकारले विशेष ख्याल पुर्याउनुपर्ने सुझाव दिनुभयो ।
कांग्रेस सांसद हिमबहादुर शाहीले आफूहरुको सल्लाह विपरीत बजेट आएको बताउनुभयो ।
आफ्नो क्षेत्रमा केन्द्रले सञ्चालन गरेका सडक योजनाहरु प्रदेशले अर्को रुटबाट लिएको भन्दै सच्याउन आग्रह गर्नुभयो ।
सांसद सुशिलकुमार थापाले माथिल्लो कर्णाली आयोजनालाई प्रदेशको गहना बनाउने गरी अघि बढाउनुपर्ने र, ती कुरा बजेटमा समेटिनुपर्ने धारणा राख्नुभयो । सांसद ठम्मर विष्टले साह्रै मिहिनेत गरेर बजेट ल्याइएपनि अंक बिनाको बजेटबाट धेरै आशा गर्न नहुने बताउनुभयो ।
सांसद अम्मरबहादुर थापाले सांसदलाई दास र मन्त्री मालिक बनाउने मानसिकताबाट सरकारले बजेट ल्याएको भन्दै आक्रोश पोख्नुभयो ।
बजेटमाथिको आजको छलफलमा सांसदहरु रातो कामी, गणेप्रसाद सिंह, पद्मा खड्का, बद्मी क्वारी बोहरा, कौशिलावती खत्री, बीरबहादुर शाही र दानसिं परियारले भाग लिएका थिए । संसदमा बजेटमाथिको छलफल भोली (शनीबार) पनि चल्नेछ ।
कार्यान्वयन गरेर सक्नेगरी बजेट ल्याएकाे मन्त्री ज्वालाकाे दाबी
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असारमसान्तसम्म कार्यान्वयन गर्न सकिने कार्यक्रमलाई मात्र बजेट विनियोजन गरेको दाबी गर्नुभएको छ ।
बजेटसम्बन्धी आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले खर्च हुन नसकेको बजेट सञ्चित कोषमै रहने बताउनुभयो । उहाँले अब कार्यान्वयन गर्ने आफुहरु लाग्ने बताउनु भयो ।
बजेट सानो आकारको भएपनि महत्वकाँक्षी भएको भन्दै भिजन बोकेको बजेट भएको बताउनु भयो । उहाँले पहिलो पटक बजेट ल्याइएकोले यसले पुर्ण बजेट ल्याउनका सही बाटो पुग्ने बताउनु भयो । प्रदेशको कानुन निर्माण, संरचनाहरुको व्यवस्था, सम्भाव्यता अध्ययनमा पनि बजेटमा प्राथमिकता दिइएको उहाँको भनाई छ ।