आहा कर्णालीः मादले गुफा र गुप्तीताल (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ६० किलोमिटर पश्चिम तर्फको यात्रा गरेपछि पञ्चपुरी नगरपालिको विद्यापुर पुग्न सकिन्छ । विद्यापुर पहिलाको एउटा गाविस हो । अहिले वडाहरुमा विभाजन भएको विद्यापुर पर्यटकिय हिसावले निकै महत्वपूर्ण ठाउँ हो । पञ्चपुरी नगरपालिका भित्रका धेरै पर्यटकिय क्षेत्रहरुमध्ये एउटा हो मादले ओडार । त्यही छ गुप्ती ताल । ओडार अर्थात् गुफाभित्र ढुङ्गामा ठोक्दा ठ्याक्कै मादलकै जस्तो आवाज निस्किन्छ । त्यही आवाजकै कारण ओडारको नाम भयो, मादले ओडार ।

मादले ओडार

ओडारभित्रका जुनसुकै ढुङ्गामा ठोक्दा मादलकै जस्तो आवाज आउँछ । बाहिरबाट विद्यापुर पुगेका नागरिकलाई यही ओडारमा घुमाउन पु¥याउँछन् स्थानिय नागरिकहरु । त्यहाँभित्र प्रवेशगरी बाहिर निस्किँदा जो कोहीले पनि खुसीको अनुभूती सुनाउँछन् ।
झट्ट बाहिरबाट हेर्दा ओडार मात्रै देखिए पनि भित्र पुगेपछि पानी भेटिन्छ । करिव ३० वर्ष भन्दा पहिले स्थानिय नागरिक इन्द्र बहादुर सापकोटाले सिकार खेल्ले क्रममा त्यो ओडार र त्यस भित्रको ताल पत्ता लगाउनुभएको पञ्चपुरी नगरपालिका ९ का स्थानिय नागरिक ज्ञानेन्द्र प्रसाद कँडेलले बताउनुभयो ।

गुप्ती ताल ।

बाहिरबाट नदेखिने तर भित्र सुन्दर ताल भेटिएपछि स्थानिय नागरिकले गुप्ती ताल नामाकरण गरेका छन् । गुप्त अवस्थामा लुकेर रहेकाले यो तालको नाम गुप्तीताल रहेको बुढापाकाहरुले बताएका छन् ।
अहिले स्थानिय सरकार गंठन भए संगै पछिल्लो समय वडाले यस तालको र गुफाको संरक्षण र सम्र्वद्धनको लागि पञ्चपुरी नगर नगरपालिकाले प्रसार प्रचार गर्न होडिङ्ग वोर्ड बनाउने, भिडियो तथा अडियो सामग्री बनाउन थालिएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शान्तिराज खरालले आफूहरु विशेषगरी प्रचारप्रसारका लागि बढी केन्द्रित रहेको बताउनुभयो ।
प्रकृतिले नै यति सुन्दर ताल र गुफा दिएको छ । यो र यस्तै पर्यटकिय क्षेत्रको प्रचार र संरक्षण गर्न सकिएमा विकास र समृद्धिमा टेवा पुग्नेछ ।

सुन्नुहोस् अडियोः