कर्णालीका सभामुख र मन्त्रीले हेर्ने, युवाहरुले संसद् र सरकार चलाउने

सुर्खेत, २९ जेठ (जागरण) । जिल्ला समन्वय समिति सुर्खेतको सभाहल । हलभित्र भरिभराऊ युवा/तन्देरीहरु । अघिल्लोपट्टी सभामुख र महासचिव बस्ने कुर्सी र टेवुल । नजिकै टिप्पणीकार । वायाँतर्फ छ, रोष्ट्रम । सभामुखले भनिरहेका छन् ।
केहिवेरमै मर्यादापालकले भने, माननिय सदस्यहरु, माननिय सभामुख ज्यू । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही कार्यक्रम स्थलमा यसअघि नै पुगिसकेकाले धेरैले अनुमान गरे, सभामुखको आशनमा शाही नै बस्लान् । तर एकैछिनमा सभामुख रुकुम पश्चिमका एक युवा विशाल विष्टलाई मर्यादापालकले स्कटिङ्ग गर्दै सभामुखको आशनसम्म पु¥याए र त्यसपछि बज्यो राष्ट्रिय गान ।
राष्ट्रिय गानपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नुभयो । उहाँले भन्नुभयो, ‘माननिय सदस्यहरु अव यस संसद्को आजको वैठकको कारबाही शुरु हुन्छ ।’

नमूना युवा संसदका सभामुख ।

उहाँले सुन्ने समय, विशेष समय र मन्त्रीसँगको प्रश्नोत्तरको कार्यसुचीअनुसार साँसदहरुलाई आफ्नो भनाई राख्ने पालो दिनुभयो । त्यहाँ युवा सरकारले ल्याएको भनिएको नीति तथा कार्यक्रममाथि छलफल गरियो । सत्तापक्ष र प्रतिपक्षको केहीवेर नीति तथा कार्यक्रमभित्रै रहेर चर्काचर्की पनि भयो ।
यो सवै दृश्य हेरिरहनुभएको थियो, कर्णाली प्रदेशका सभामुख शाही र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसहित अन्य व्यक्तिहरुले ।

युवा संसद्को अवलोकन गर्दै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, कर्णाली सरकारका सामाजिक विकास मन्त्री दल रावल, राष्ट्रिय युवा परिषद्का कार्यकारी अध्यक्ष माधव ढुङ्गेल तथा नेकपा सुर्खेतका जिल्ला सदस्यहरु पूर्णप्रसाद पौड्याल र कलमणी देवकोटा ।

कर्णाली प्रदेशका युवाहरुले वीरेन्द्रनगर सुर्खेतमा आफ्नै संसद सञ्चालन गरेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट भएर आएका ३४ जना युवाहरुले संघिय युवा संसद् सञ्चालन गरेका हुन् ।
नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा नमूना युवा संसद् सञ्चालन भएको छ ।
नमूना युवा संसद्भित्र युवा साँसद्हरुले आइटी पार्क, स्थानिय तहको नीति निर्माण गर्दा युवा सहभागितालाई ख्याल नगरिएको कुरा, विजुलीमा हुने लोडसेडिङलगायतका विषयवस्तु उठान् गरेका छन् ।

नमूना युवा सरकारका मन्त्री तथा सत्तापक्षका साँसद्हरु ।

१० जिल्लाकै युवाहरुको सहभागिता भएको नमूना युवा ससद्मा हुम्लाकी सरगम रावत प्रधानमन्त्रीको भुमिकामा, श्रम तथा रोजगार मन्त्री सुर्खेतका युवराज पंगाली, युवा तथा खेलकूद मन्त्री दैलेखका लक्ष्मीप्रसाद पौडेल, शिक्षा मन्त्री सुर्खेतकी रचना सुनार, स्वास्थ्यमन्त्री जुम्लाका गोविन्दराज शाही र कृषि तथा सहकारी मन्त्री जाजरकोटकी सविता शाही तथा प्रमुख प्रतिपक्षी दलको नेता सुर्खेतका देवराज हमाल र सभामुखको भूमिकामा रुकुम पश्चिमका विशाल विष्टले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

विशेष समयमा बोल्दै नमूना युवा संसदकी प्रतिपक्षी दलकी साँसद् ।