डोल्पा, १४ वैशाख (जागरण) । डोल्पाको मुड्केचुला गाउँपालिका–९ होर्त गाउँका आगालागी पिडीतहरुले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् ।
गत साल पुस २४ गते भएको भिषण आगलागीबाट होर्तका पाँच परिवारको घर जलेर पुर्ण रुपमा ध्वस्त भएको थियो । आफूहरुको नाममा राहत आयो भन्ने मात्रै सुनेको तर नपाएको गुनासो आगलागी पिडित नैनासरा बुढाले पोख्नुभयो ।
आगलागीबाट होर्त गाउँका नैन बुढा, दत्त बुढा, कन्नगिरी बुढा, पुन्न बुढा र दलजीत बुढाको पाँच ओटा घर पुर्णरुपमा भग्नाबशेष बनेका थिए ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिले सम्म आफुहरुले राहत बापत २७ हजार ५ सय ,नेपाल तरुणदल डोल्पाबाट कम्बल र बालबालिकाहरुलाई कपिकलम लगायतका शैक्षिक सामाग्रीहरु पाएको उनीहरुले बताएका छन् ।
जिल्ला प्रशासन मार्फत राहत नगद १५ हजार,नागरिक समाज र नेपाल पत्रकार महासंघबाट ८ हजार ५ सय र कम्बल बाटोखर्च आरआरएन संस्थाले उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
आगलागी पिडितको नाममा धेरैले धेरैठाउँबाट नगद तथा जिन्सी सामाग्री उठाएको खवर आफुले पाएको तर अहिले सम्म कसैले पनि पिडितहरुलाई उपलब्ध नगराएकाले छानवीन थालनी गरिएको अध्यक्ष जयप्रसाद बुढाले बताउनुभयो ।
मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले अग्नी पिडितहरुलाई प्रति घर ७० हजारका दरले घरको जग उठाउनको लागि राहत स्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको जानकारी दिनुभयो ।