नन्द कठायत ।
मुगु, ३१ जेठ (जागरण) । नेपालको सवैभन्दा अग्लो स्थानमा रहेको सुन्दर ताल हो राराताल । राराताल कर्णाली प्रदेशको मात्र होइन नेपालकै गौरव बोकेको ताल हो । नेपालको सबै भन्दा सुन्दर पर्यटकीय स्थल रारा ताल क्षेत्रलाई पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य केन्द्रविन्दुको रुपमा विकास गर्न थालिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि सवारी साधनको यात्रामा दुई दिन लाग्ने यो तालमा सजिलै पुग्न सकिन्छ । स्वर्गको अप्सराको रुपमा चिनिएको रारातालमा कर्णाली प्रदेशको राजधानी हुँदै कर्णालीका अधिकांश जिल्लाहरु भएर पर्यटकहरु पुग्ने गर्दछन् ।
राराताल नजिक होटल व्यवसाय गतिलो नभएको गुनासो आइरहेका बेला अहिले भने स्थानिय नागरिक तथा सरकारी संयन्त्रको साझेदारीमा त्यसको व्यवस्थापनसमेत गर्न थालिएको छ । अहिले स्थानिय नागरिकले विभिन्न ठाउँमा खान बस्नको लागि होम–स्टे पनि सञ्चालन गरेका पिना युवा समिति मुगुका संयोजक सुरेन्द्र बमको भनाई छ ।
उहाँले भनेअनुसार अव राराताल क्षेत्रमा पुग्ने पर्यटकहरुले बसोबासको चिन्ता मान्नेुपर्ने छैन । रारा जाने बाटोमा कतै रमाइला पाटनहरु, कतै माटोबाट बनेका परम्परागत घरहरु, तथा सेताम्मे हिमालको रमणिय वातावरणको अवलोकन पर्यटकले गर्नसक्छन् ।
चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले पर्यटक भित्र्याउनका लागि कर्णाली रारा पर्यटन भ्रमण वर्ष समेत मनायो । राराताल छेउबाट अघिल्लो वैशाख १ गते प्रधानमन्त्री केपी ओलीले देशबासीको नाममा सम्वोधनसमेत गर्नुभयो । पछिल्लो समय नेपालका विभिन्न जिल्ला तथा नेपाल बाहिरबाट पनि रारा घुम्ने पर्यटकको घुइचो बढेको बताउनुहुन्छ, जुम्लाका होटल व्यवसायी भीम भण्डारी ।
पाँच किलोमिटर लम्बाईमा फैलिएको रारातालमा पुग्ने पर्यटकहरुले घोडामा चढेर यात्रा र अवलोकनसमेत गर्न पाइने व्यवस्था छ ।
राराताल क्षेत्रलाई अझै आकर्षक गन्तव्य बनाउनका लागि तालको वरिपरी तीनओटा होमस्टे, भ्यूउटावर निर्माण र पदमार्ग निर्माणको लागि कर्णाली प्रदेश सरकारले तीन करोड रुपैयाँ छुट्याएको बताउनुहुन्छ, मुगुबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य दानसिहं परियार ।
राराताल क्षेत्र दुई हजार नौ सय फिट उचाईमा फैलिएको छ भने, एक सय ६७ मिटर गहिरो छ । यो तालले फरक फरक रङ्ग फेर्नै भएकाले पर्यटकहरुले यसलाई स्वर्गकी अप्सराको रुपमा लिने गरेका छन् । विभिन्न हिमश्रृङ्खलाको काखमा रहेको यो ताल जति हेरे पनि मन अघाउँदैन ।
सुन्नुहोस् अडियोः